आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

महाधिवेशन सार्दै कांग्रेसः १० जिल्लामा समायोजन नै बाँकी

गोकर्णेश्वर खबर१६ भाद्र २०७७, मंगलवार ०६:४१ मा प्रकाशित (३ साल अघि) २५२ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ ।

यसअघि दुईपटक केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको मिति परिवर्तन गरेको कांग्रेसले सुरु कार्यतालिका नै प्रभावित भएपछि महाधिवेशनको पूर्वनिर्धारित मिति नै सार्ने तयारी गरेको हो । ‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको अवस्था छ त्यसकारण महाधिवेशन पनि सर्ने अवस्था आयो । यही समयमै हुन्छ भन्ने तय त केन्द्रीय समितिले गर्छ तर सर्छ,’ सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले राजधानीसँग भने ।

उनले सभापतिलाई काम नै गर्न नदिने गरी केही नेताहरू अघि बढेकाले समेत समयमा महाधिवेशन हुने अवस्था टर्दै गएको जनाए । ‘सभापतिलाई केही काम नै गर्न नदिने, जे गरे पनि विरोध गर्ने, जिल्ला सभापतिहरूलाई सदस्यताको फाराम नै लैजान नदिने अनि महाधिवेशन भएन भनेर सभापतिलाई मात्रै दोष दिएर होला ?’ नेता विश्वकर्माले भने ।

कांग्रेसले हाल कायम रहेको करिब ५ लाख क्रियाशील सदस्यतालाई बढाएर १० लाख अर्थात् दोब्बर बनाउने नीति लिएको हो । कांग्रेसले पछिल्लोपटक २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।

अन्तरिम संरचना समायोजन र क्रियाशील सदस्यता वितरणका लागि पछिल्लोपटक तोकेको म्याद सकिएर कार्यतालिका प्रभावित भएसँगै आगामी केन्द्रीय समितिबाट फेरि कार्यतालिका परिमार्जन गर्ने कांग्रेसको तयारी छ ।

तर, नेता कृष्णप्रसाद सिटौलाले भने केन्द्रीय समितिको म्याद आगामी फागुनमा नै सकिने हुँदा फेरि ६ महिनाको म्याद थप गर्दा पनि भदौमा नै थप म्यादसमेत सकिने भएकाले वैशाख वा जेठमै महाधिवेशन गर्न देउवालाई सुझाउँदै आइरहेका छन् ।
२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै पनि पछिल्लोपटक तोकिएको १० साउनसम्ममा सकिनुपर्ने कांग्रेसको अन्तरिम संरचना समायोजनको काम अझै सकिएको छैन । कांग्रेस पार्टी कार्यालयले ६५ जिल्लामा समायोजनको काम सकिएको दाबी गर्दै आएको छ । केही जिल्ला, वडा र केही स्थानीय तहमा समायोजन नसकिँदा समायोजनको काम अड्किएको छ ।

कांग्रेस केन्द्रले दाबी गरेकाबाहेक बाँकी १२ जिल्लामा समायोजनमा विवाद देखिँदै आएको छ । प्रदेश २ का आठ जिल्लामा सबैभन्दा धेरै विवाद छ । यस्तै काभ्रे, सिन्धुपाल्चोक र मुस्ताङमा समेत समायोजनमा विवाद देखिँदै आएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।