आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सामाजिक बहिष्करणमा कोरोना संक्रमितको परिवार

गोकर्णेश्वर खबर९ भाद्र २०७७, मंगलवार ०७:४१ मा प्रकाशित (३ साल अघि) ४५६ पाठक संख्या

काठमाडौं, ९ भाद्र । बानेश्वर, चितवनलगायतका क्षेत्रमा कोरोना संक्रमितमाथि छरछिमेकीले अमानवीय र असहिष्णु व्यवहार देखाएको समाचार बाहिर आइरहेका बेला धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्रतिनिधिले किरियापुत्री बसेकै अवस्थामा लखेटेका छन् ।

समाजसेवी रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणकै कारण ९८ वर्षको उमेरमा गत साता निधन भएपछि किरियामा बसेका उहाँका छोरासहितको परिवारलाई स्थानीय जनप्रतिनिधिसमेतले जबरजस्ती गरेका हुन् ।

‘यस क्षेत्रमा समाजसेवीका रुपमा स्थापित मेरा पितालाई दागबत्ती दिन पाइनँ, धैर्य गरेरै बसेको थिएँ, छरछिमेकी र जनप्रतिनिधिहरु नै आएर गाउँ छोडेर जा भनेपछि म सार्वजनिक भएको छु, अब नाम गोप्य राखिरहनुको के अर्थ’

घिनाञ्जुका छोरा रामेश्वर घिनाञ्जुले क्षोभपूर्ण र सजल आँखा बनाउँदै नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘आजीवन समाजसेवा केका लागि, मेरो गाउँ–समाज भन्नु किनरु’ उहाँले धेरै कुरा गर्न चाहनुभएन, भन्नुभयो– ‘मैले सबै कुरा फेसबुकमा लेखेको छु, त्यही हेरिदिनुहोला।’

कोरोना संक्रमित भएर अस्पतालको आइसोलेसनमा बसेका बेला मेरा आदरणीय पिता रामचन्द्र घिनाञ्जु ९८औं वर्ष प्रवेश गर्नासाथ हामीबाट सदा सदाका लागि कुनै दुःख नै नदिई जानुभयो । समाजसेवाको बाटो सिकाएर र जीवन समाजका लागि समर्पित गर्नुपर्छ भन्दै बित्नुभयो । बुबा, तपाईले सिकाएको बाटाहरु बिर्सने छैनौं । यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।