आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं उपत्यकामा मात्रै २० हजारको कोरोना परीक्षण गरिँदै

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार १९:०९ मा प्रकाशित (३ साल अघि) ३२८ पाठक संख्या

काठमाडौँ । उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ ।

आज नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको हो ।

बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ सहभागी थिए ।

‘पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । यो प्रक्रिया निरन्तर रहने हो भने समुदायस्तरमै पुग्ने खतरा हुन्छ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘संघीय राजधानी समेत रहेको र अत्यन्त घनावस्ती युक्त उपत्यकामा कोरोना संक्रमण समूदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ । त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने भएका छौँ ।’

मेयर शाक्यले त्यसका लागि व्यापक रुपमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको तयारी गरेको जानकारी दिए । ‘कोरोना संक्रमण बढ्दै गएपछि केही दिनदेखि उपत्यकामा निषेधाज्ञा जारी भएको छ । हामी निषेधाज्ञाको अवधीलाई पूर्ण सदुपयोग ‘हटस्पट’ मा व्यापक रुपमा कन्ट्राक्ट ट्रेसिङ गरी परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णयमा पुगेका छौँ । परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएका सबैको उपचारको व्यवस्था गर्ने गरी अघि बढ्छौँ,’ उहाँले भन्नुभयो, ‘कन्ट्राक्ट ट्रेसिङमा नपरेका र संक्रमणको संकेत देखिएकाहरुको पनि हामी परीक्षण गर्ने तयारीमा छौँ ।’

उहाँले थप छलफल गरी निर्णयमा पुग्न भोलि (सोमबार) उपत्यका नगरपालिका फोरमको बैठक बोलाएको जानकारी दिए । ‘त्यही बैठकमा निर्णय गरी दू्रत गतिका साथ हाम अघि बढ्छौँ,’ शाक्यले भने, ‘त्यस क्रममा सबै पालिकामा जानकारीका लागि माइकिङ गर्नेलगायतका कार्यलाई पनि अघि बढाउने तयारी छ ।’

नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले तालिका नै बनाएर कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङमा जाने बताउनुभयो । ‘उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ गर्ने हाम्रो योजना छ’ श्रेष्ठले भने, ‘भोलि नगरपालिका फोरमको बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको कन्ट्राक्ट ट्रेसिङ र परीक्षण गर्ने भन्ने निर्णय गरी तालिका नै बनाएर अघि बढछौँ ।’

उनले पनि भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको भन्दै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दुबैलाई निरन्तर अघि बढाउने जानकारी दिए । ‘निषेधाज्ञामा हामीले उपत्यकावासीलाई घरमा बस्नु भनेका छौँ । यो अवधीमा केही पनि प्रयास नगर्ने र उहाँहरु घरमा मात्रै बस्ने हो भने समस्या समाधान हुँदैन,’ उनले भने, ‘विदेशतिरको प्रयोगलाई हेर्ने हो भने पनि निषेधाज्ञाको समयमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ गर्दै आइसोलेट गर्दै जानुपर्छ । हामी त्यही बैज्ञानिक विधि अपनाएर अघि बढ्ने निर्णयमा पुगेका छौँ । यसो नगर्ने हो भने स्थिति भयावह हुनसक्छ ।’

उनले उपत्यकाका सबै ‘हटस्पट’मा कन्ट्राक्ट ट्रेसिङका आधारमा टेस्टिङलाई अभियानकै रुपमा अघि बढाउने पनि जानकारी दिए ।