आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

निषेधाज्ञा प्रभाव : कर्मचारी रोकिँदा खुल्न सकेन बैंक

गोकर्णेश्वर खबर४ भाद्र २०७७, बिहीबार १५:५९ मा प्रकाशित (३ साल अघि) २०३ पाठक संख्या

काठमाडौं । गएरातिदेखि जारी भएको निषेधाज्ञाका कारण बैंकहरुको सेवा प्रवाहमा समेत समस्या देखिएको छ । प्रहरीले अनावश्यक घर बाहिर निस्कने सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुलाई समेत बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो ।

सरकारले बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न प्रशासनले भनेपनि बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिएपनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको बैंकर्स संघले जनाएको छ ।

मुख्य कार्यालयमा बढीमा १० प्रतिशत कर्मचारीले सेवा दिने र सीमित ठाउँमा मात्रै शाखाहरु खोल्ने सहमति भएपनि प्रहरीले बाटोमै कर्मचारी रोकेपछि सेवा नै दिन सक्ने अवस्था नभएको संघले जनाएको छ । कर्मचारीहरु बाटोमा रोकिएपछि बैंकहरुको सेवा प्रवाहमा समस्या देखिएको छ ।

बैंकहरुले मुख्य गेट नै बन्द गरेका छन । जसका कारण ग्राहकहरु गेट बाहिर उभिएका छन । सीमित मात्रामा मात्रै बैंकका शाखाहरु खुला हुने सूचना पाएका ग्राहकहरु टाढाबाट आएर बैंकका गेट बाहिर उभिएर बसेका हुन ।