आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

पीसीआर परीक्षणको दायरा नबढ्दा कोरोना संक्रमित भित्रभित्रै बढे

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार ०७:१४ मा प्रकाशित (३ साल अघि) २३७ पाठक संख्या

काठमाडौं । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए । झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ ।

सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ । वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो । जेठ १९ मा कुल संक्रमित १ हजार ८ सय ११ जना थिए ।

त्यसपछि हालसम्म झन्डै १९ हजार संक्रमित थपिएका छन् । जेठ १९ मा मात्रै २ सय ३७ जनामा संक्रमण फेला परेको थियो । असार १९ मा एकै दिन ४ सय ७० जनामा संक्रमण देखियो । त्यसको ठीक एक महिनापछि सोमबार ४ सय १८ जना संक्रमित भेटिए । यो तथ्यांकमा काठमाडौं उपत्यकाको संख्या ५१ छ । तब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘बालबालिका र वृद्धवृद्धा बाहिर ननिस्कनुहोला, संक्रमणबाट जोगिन गाह्रो हुन्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले संक्रमण पुष्टिपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जोखिम बढाएको बताए । भारतबाट स्वदेश फर्कने नेपालीको भीड बढेपछि संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ ।

कोरोनाको पहिलो चरणमा नेपालमा विदेशबाट आएका नेपालीमा संक्रमण देखिएको थियो । त्यसको दोस्रो चरणमा कैलालीकी महिलामा विदेशबाट आएका संक्रमितबाट कोरोना सरेको पाइएको थियो । मन्त्रालयका पूर्वविशेषज्ञ डा सुशीलनाथ प्याकुरेलका अनुसार यात्रा नगरेको स्थानीयमा संक्रमण देखिनु दोस्रो चरण हो ।

कोरोनाको तेस्रो चरण भनेको समुदायमा फैलिएको अवस्था हो । कोरोना जेठ १९ गतेसम्म विभिन्न जिल्लामा देखा परेको थियो। त्यसबेला ५६ जिल्लामा संक्रमित फेला परेका थिए । जनस्वास्थ्यविज्ञ डा समीरमणि दीक्षितले भने, ‘लकडाउन अवधिमा आवतजावत भइरह्यो । पीसीआर परीक्षण क्वारेन्टाइनमा मात्र सीमित रह्यो । पीसीआर परीक्षण विस्तार हुन सकेन । संक्रमित भित्रभित्रै बढे ।’

मन्त्रालयको तथ्यांकअनुसार असार १९ गते एकै दिन सबैभन्दा बढी ४ सय ७० जना संक्रमित भए । ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गर्दा सो संक्रमित फेला परेका हुन् । कुल संक्रमित संख्या १५ हजार २ सय ५९ थियो । त्यसबेलासम्म ३२ जनाको मृत्यु भएको थियो । त्यो संख्या बढेर ५७ पुगेको छ । एक महिना अवधिमा झन्डै ५ हजार संक्रमित थपिएका छन् । निको हुनेको संख्या १४ हजार नाघेको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।