आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

फेरि जोर बिजोर ? लामो दुरीका सवारी सञ्चालनमा सरकार पछि हट्ने सम्भावना

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार ०६:४१ मा प्रकाशित (३ साल अघि) ३७५ पाठक संख्या

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सहित स्वास्थ्यका विज्ञसँग मंगलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दैछन् ।

सिसिएमसी बैठकमा संक्रमण बढ्दै गएपछिको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागू गर्ने विषयमा छलफल भइरहेको सिएमसीका एक सदस्यले बताए । प्रधानमन्त्री ओलीले संक्रमणको विस्तारपछिको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा स्वास्थ्य विज्ञसँग समेत मंगलबार नै छलफल गर्नेछन् । सोमबार उपत्यकामा मात्रै ५१ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेका हुन् ।

‘संक्रमणको अवस्था बढ्दो क्रममा छ, समितिको बैठकमा अब अति आवश्यक बाहेकका क्षेत्रलाई बन्द गरेर निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोर बिजोर लागू गराउनुपर्छ भन्ने सन्दर्भमा छलफल भएको छ । प्रधानमन्त्रीज्यूलाई मंगलबार बिफ्रिङ हुनेछ,’ सिसिएमसीका ती सदस्यले भने ।

सरकारले लकडाउनलाई खुकुलो गरेसँगै गत २६ असारबाट निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हटाइएको थियो । सरकारले १ भदौबाट लामो दुरीको सवारीसमेत सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर, जोखिम दिनदिनै बढ्दै जाँदा लामो दुरीका सवारी सुचारु गर्ने विषयमा समेत सरकार पछि हट्ने सम्भावना छ । स्वास्थ्य मन्त्रालयका अधिकारीले राजधानी बाहिरबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नसमेत सरकारलाई सुझाउँदै आइरहेका छन् । राजधानी दैनिकबाट