आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

‘समुदायमा कोरोना संक्रमणको खतराको घण्टी’

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार ०८:४५ मा प्रकाशित (३ साल अघि) १९४ पाठक संख्या

बुटवल । बुटवल उपमहानगरपालिका–१३ बेलवासका २७ वर्षीय युवक साउन २ गते साउदी अरेवियाबाट स्वदेश आए ।

१४ दिन क्वारेन्टिनमा बसेर पिसिआर परीक्षणपछि घर जाने योजनासहित आएका उनलाई उपमहानगरपालिकाले क्वारेन्टिनमा राख्न मानेन । उनको पिसिआर, आरडिटी परीक्षण पनि गरिएन । त्यसपछि उनी सरासर घर गए । होम क्वारेन्टिनमा बसेको केही दिनपछि उनी प्रादेशिक अस्पतालमा परीक्षणका लागि स्वाब दिन गए ।

त्यहाँ ५ हजार ५ सय रुपैयाँ तिरेर परीक्षण गराए । रिपोर्ट कोरोना पोजेटिभ आयो । वडाध्यक्षको समन्वयमा उनलाई एन्फा एकेडेमीको आइसोलेसनमा लगियो । उपमहानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा उनको परिवारका तीन सदस्यको कोरोना परीक्षणका लागि स्वाब लियो । एउटै घरमा बसेकी आमाको भने स्वाब लिइएन ।

त्यस्तै भारतबाट साउन ७ गते बुटवल आएका तीन भारतीयमा कोरोना देखियो । बुटवलको एक पसलमा काम गर्ने दम्पती १३ वर्षका छोरासहित बेलहिया नाकाबाट आएका थिए । उनीहरुलाई न नाकामा सोधपुछ गरियो न बुटवल उपमहानगरपालिकाले क्वारेन्टिनमा राख्यो । उपमहानगरपालिकाले क्वारेन्टिनमा नमानेपछि काम लगाउने साहुले उनीहरुलाई एउटा होटलमा राखे । लुम्बिनी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गराएका तीनैजनाको रिपोर्ट ९ गते कोरोना पोजेटिभ आयो ।

उपमहानगरपालिका र प्रदेश सरकारले रिपोर्ट नै गुपचुप राखे । व्यापारीबाट यो कुरा बाहिरिएपछि ११ गते बल्ल संक्रमित पुष्टि गर्दै उनीहरूलाई होटलबाट आइसोलेसन अस्पताल पठाइयो । लक्षणसहितका ती संक्रमितलाई कोरोना अस्पतालमा राखिएको लुम्बिनी प्रादेशिक अस्पतालका डा। सुदर्शन थापाले बताए ।

प्रदेश सरकारलले पछिल्लो समय पिसिआर परीक्षण न्यून गरेर कोरोना नियन्त्रणमा सफलता हात पारेको देखाउन खोजेको छ । प्रदेश सरकारले क्वारेन्टिनमा बसेका र लक्षणसहितका बिरामीको मात्रै पिसिआर परीक्षण गर्न निर्देशन दिएको जनस्वास्थ्यका एक अधिकारीले बताए ।

‘तेस्रो मुलुक वा भारतबाट आएका हुन् वा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी वा समुदायका मानिस हुन्, लक्षण देखिएको छैन भने परीक्षण नगर्नु भन्ने आदेश छ,’ रुपन्देहीकै एक पालिकाका स्वास्थ्य संयोजकले भने । यो प्रदेशमा भारत तथा तेस्रो मुलुकबाटै आएकाहरुको आरडिटी परीक्षणसमेत गरिएको छैन । जोखिमयुक्त क्षेत्रबाट आएकाले पैसा तिरेर पनि पिसिआर जाँच गराउन पाएका छैनन् ।

तिलोत्तमा नगरपालिका–९ मा डेरामा बस्ने गुनबहादुर बहराइनबाट काठमाडौं हुँदै साउन ४ गते बुटवल आए । उनलाई तिलोत्तमा नगरपालिकाले क्वारेन्टिनमा राख्न मानेन । आरडिटी वा पिसिआर परीक्षण पनि गरिदिएन । मेयर वासुदेव घिमिरेले नै क्वारेन्टिनहरु हटाउँदैछौं । नयाँ मान्छे लिन्नौं । होम क्वारेन्टिनमा बस्नुस् भनेपछि उहाँलाई कोठामा ल्यायौं,’ पत्नी विष्णुले भनिन् । घरधनीले भनसुन गरिदिएपछि बल्ल गौतमबुद्ध मुटु अस्पतालमा ११ सय रुपैयाँ तिरेर आरडिटी परीक्षण गराएको उनले बताइन् ।

लकडाउन खुलेपछि प्रदेश ५ मा भारत र तेस्रो मुलुकबाट आउने बढी छन् । बेलहिया नाकाबाट मात्रै दैनिक २ सयको हाराहारीमा नेपाली भित्रिएको तथ्यांक छ । उनीहरूलाई बिनापरीक्षण घर पठाइएको छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य संयोजक कुन्दनकुमार सिंहले सामुदायिक क्वारेन्टिनमा बस्नेका लागि मात्रै भिटिएम उपलब्ध गराइएकाले अन्यको परीक्षण गर्न नसकिएको बताए ।

भारत र तेस्रो मुलुकबाट आउनेलाई बिनापरीक्षण घर पठाउँदा संक्रमण समुदायमा फैलिएको भन्दै जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गरेका छन् । डब्लुएचओकै एक प्रतिनिधिले प्रदेश ५ का बाँके, कपिलबस्तु, रुपन्देहीमा संक्रमण समुदायमा पसेको बताए । ‘दाङ र बर्दियामा पनि परीक्षणको दायरा बढाउनु अति जरुरी छ,’ ती अधिकारीले भने । बाँके र कपिलबस्तुमा ट्राभल हिष्ट्री नभएकामा पनि संक्रमण देखिएको छ ।

प्रदेशमा पछिल्लो समय भारत र तेस्रो मुलुकबाट आएकासँगै स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, शिक्षक, एनजिओकर्मी र ट्राभल हिष्ट्री नभएकामा पनि संक्रमण देखिएको छ । भारतमा कोरोनाका बिरामी बढेकाले त्यहाँबाट आउनेलाई सीधै घर पठाइनु घातक हुने प्रदेश प्रयोगशाला भैरहवाका प्रमुख डा राजेन्द्र गिरीले बताए । ‘भारत वा तेस्रो मुलुकबाट आउनेलाई क्वारेन्टिनमा राखौं । पिसिआर अनिर्वाय गरौं । नत्र भने समुदायमा पसेको संक्रमण फैलिन बेर लाग्दैन,’ डा गिरीले भने । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।