आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

मृत्यु भएको ३ दिनपछि कोरोना पुष्टि, अन्त्येष्टिमा १५० भन्दा बढी मलामी

गोकर्णेश्वर खबर१३ श्रावण २०७७, मंगलवार १७:३५ मा प्रकाशित (३ साल अघि) ४२४ पाठक संख्या

कैलाली – बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।

भण्डारीका अनुसार असार २४ गते भारतको बैंग्लोरबाट आएका उनी १४ दिन क्वारेन्टिनमा बसेर साउन ६ गते घर गएका थिए ।

नगरपालिकाका सिनियर अहेब भूमिराज जोशीका अनुसार बैंग्लौरबाट उनी, उनको छोराको परिवारसहितको एक समूह आएर क्वारेन्टिनमा बसेको थियो ।

जोशीले भने, ‘क्वारेन्टिनमा बस्ने क्रममा साउन १ गते उनमा स्वास्थ्य समस्या आएको थियो । त्यसपछि उनलाई जिल्ला अस्पताल लैजानका लागि एम्बुलेन्ससमेत मगाएका थियौं । तर क्वारेन्टिनमै बसेका उनको छोराले अस्पताल लैजानुपर्ने बिरामी नभएको भन्दै क्वारेन्टिनमै झारफुक गरेका थिए ।’

वडाध्यक्ष कर्णबहादुर धामीले स्वास्थ्यमा समस्या देखिएपछि सामान्य जडीबुटी खाएको तर उपचार नगराएको बताए । ‘मैले एम्बुलेन्सको व्यवस्था गर्छु भन्दा पनि उहाँहरूले मान्नुभएन सामान्य हो ठीक हुन्छ भन्नुभयो’ उनले भने ।

१४ दिन क्वारेन्टिनमा बस्दा कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि उनीहरुलाई परीक्षण नगरी घर पठाइएको सिनियर अहेब जोशीले बताए । ‘साउन ६ गते घर जाने क्रममा उनीमा कुनैपनि स्वास्थ्य समस्या थिएन । एक्कासी साउन ९ गते उनको मृत्यु भएको खबर पायौं’ जोशीले भने ।

मृतकको कोरोना रिपोर्ट आएपछि अब उनको सम्पर्कमा रहेका सबैको परीक्षण गर्ने तयारी भइरहेको वडाध्यक्ष धामीले बताए । वृद्धलाई भारतबाटै कोरोना संक्रमण भएको आशङ्का गरिएको वडाध्यक्ष धामीले बताए ।

अहेब जोशीका अनुसार कोरोना परीक्षणका लागि मृतक वृद्धको स्वाब घाटमै पुगेर संकलन गरिएको हो ।

उनले भने, ‘उनको मृत्यु भएको खबर पाएपछि स्वाब संकलनका लागि हामीले स्वास्थ्यकर्मीको टोली पठाएका थियौं । स्वास्थ्यकर्मीको टोली पुग्दा अन्त्येष्टिका लागि उनको शवलाई घाटमा पुर्‍याइसकेको रहेछ । घाटमै पुगेर स्वाब संकलन गरेका हौं । डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणको नतिजा पोजेटिभ आएको छ ।’

स्थानीयले परम्परागत तरिकाले मृतकको अन्त्येष्टि गरेका कारण उनको सम्पर्कमा आएका र मलामीमा सहभागीहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाब परीक्षणको तयारी भइरहेको जोशीले बताए ।

मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका वृद्धको अन्त्येष्टिको क्रममा एक सय ५० भन्दा बढी मलामी सहभागी भएको वडाध्यक्ष कर्णबहादुर धामीले बताए ।

‘मृत्यु पनि कोरोना पोजेटिभ आएपछि अहिले कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । हामी मलामी र आफन्तहरू पनि खोजिरहेका छौँ’ प्रजिअ भण्डारीले भने ।

दाहसंस्कार करिब १५० जना मलामी सरिक रहेको जनाकारी आएको उनले बताए । उनले मृतकको सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताए ।