आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

बढ्दो चहलपहलले समुदायमा संक्रमण फैलने खतरा

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १६:०२ मा प्रकाशित (३ साल अघि) २५३ पाठक संख्या

काठमाडौँ– लकडाउन खुलेसँगै कोरोना भाइरसको संक्रमण थप तीव्र रुपमा फैलिने जोखिम बढेको भए पनि सरकार सचेत नरहेको स्वास्थ्य विज्ञले बताएका छन् ।

सरकारले संक्रमण दर कम भएको र सावधानी अपनाएमा यो संक्रमणको घट्दो क्रम जारी रहने बताएर चैत ११ देखि लागु भएको लकडाउन साउन ७ गते हटायो केही शर्तसहित ।

त्यसयता शहरमा सवारी तथा मानिसको चाप एवम् चहलपहल बढेको छ । सोही अनुपातमा संक्रमणको जोखिम पनि बढेको भन्दै स्वास्थ्य क्षेत्रका विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

केही समय आगाडि सरकारले संक्रमितको संख्या दिन प्रति दिन घट्दै गएको भन्दै संक्रमणको जोखिम कम भएको उल्लेख गरिरहेको थियो। तर सरकारले संक्रमणको जोखिम नभएको भन्दै गर्दा स्वेच्छाले पीसीआर परीक्षण गर्नेहरुमा संक्रमण देखिरहेको छ।

भारत लगायत विभिन्न देशबाट नेपाल फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिको संख्या कम हुँदै जाँदा सरकारले संक्रमणको जोखिम कम भएको बताएको थियो। तर स्वास्थ्य विज्ञहरुका अनुसार क्वारेन्टाइनमा व्यक्तिको संख्यामा कमी आए पनि पछिल्लो समय समुदायमा फाट्टफुट्ट संक्रमण देखिँदै गर्दा सरकार समयमै सचेत हुन नसके यसले खतरा निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

स्वाथ्य मन्त्रालयले दैनिक १८ हजार भन्दा बढीको पीसीआर परीक्षण गर्ने क्षमता रहेको बताए पनि त्यो भन्दा निकै थोरैको मात्रै परीक्षण हुँदा संक्रमित वा शंका लागेका व्यक्ति परीक्षणको पहुँचमा पुग्न सकेका छैनन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी परीक्षण क्षमताबारे यसरी दाबी प्रस्तुत गरे, ‘अहिले देशभर सञ्चालित प्रयोगशालाको दैनिक पीसीआर परीक्षण क्षमता ६ हजार ३ सय ६० रहेकोमा ११ वटा एक्स्ट्रयाक्सन मेशिन जडानपछि ८ हजार ८ सय थप हुने र निजी अस्पतालबाट ३ हजारको परीक्षण गर्न सक्ने मन्त्रालयको क्षमता छ।’

डा. गौतमले आवश्यकता हेरेर पीसीआर परीक्षण गरिने बताए पनि आवश्यक परेका वा शंका लागेका सर्वसाधारणले परीक्षण गराउन खोज्दा समेत पाएका छैनन् । अहिले दैनिक तीनदेखि चार हजारको बिचमा मात्रै परीक्षण हुँदै आएको छ ।

सरकारले पछिल्लो समय लक्षण भएका, संक्रमितको सम्पर्कमा आएका, संक्रमण फैलिएको ठाउँबाट आएका र चिकित्सकले सिफारिस गरेका व्यक्तिलाई मात्र पीसीआर परीक्षण गरिने भन्दै परीक्षणको दायरा घटाउँदै लगेको छ। तर विश्वभरकै पछिल्ला उदहारण हेर्ने हो भने लक्षण बिहीन संक्रमितहरुको संख्या बढ्दो छ ।

लक्षणबिहीनहरुलाई परीक्षणको दायरामा नल्याएसम्म कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन नसकिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बारम्बार चेतावनी दिए पनि नेपाल सरकारले त्यसलाई बेवास्ता गरेको देखिन्छ स्पष्ट रुपमा ।

सरकारले संक्रमितको संख्या कम भएको बताउँदै गर्दा ढुक्क भन्दा पनि सतर्क हुन आवश्यक रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताएका छन्।

‘संक्रमणको संख्यामा कमी भएकै हो। कुनै सयममा ६ देखि ७ सय संक्रमित पुगिरहेको अवस्थामा अहिले औसत डेढ सय हाराहारी छ। यसलाई नकार्न सकिँदैन। सामान्यतया: धेरैभन्दा धेरै क्वारेन्टाइनमा बस्नेहरुलाई लक्षित गरेर गरिएको अवस्था हो। यो हामी सबैलाई थाहा भएकै कुरा हो’, उनले भने, ‘बाहिरबाट आउनेहरुको संख्या कम भएको छ। जसले गर्दा दैनिक क्वारेन्टाइन बस्नेहरुको संख्या घटिरहेको छ। यसले अवश्य पनि संक्रमितको संख्या कम हुने नै भयो। फाट्टफुट्ट समुदायमा संक्रमण देखिँदै गर्दा आगामी दिनमा कतै पूरै समुदायमा पो फैलिने हो कि भन्ने तर्फ सतर्क हुन जरुरी छ।’

सीमित दायरा भित्रकालाई मात्रै परीक्षण गरेर संख्या घट्दो क्रममा छ वा कम भयो भन्नुको साटो परीक्षणको दायरा फराकिलो बनाउनु पर्ने डा. पुनले बताए ।

 

‘समुदायमा संक्रमण फैलिने सम्भावना छ। अहिले देखिएका संक्रमणहरुले त्यही संकेत गर्छ । फाट्टफुट्ट संक्रमण देखिएका ठाउँलाई अझ नजिकबाट नियाल्नु पर्छ। परीक्षणलाई निरन्तरता दिनु पर्छ। विभिन्न ठाउँबाट विभिन्न मानिसहरु भित्रिँदै गर्दा जोखिम अझ धेरै हुन्छ। त्यसैले आगामी दिनमा हामीले जोखिमको क्षेत्र वा समूहलाई लक्षित गरेर परीक्षणलाई निरन्तरता दिइरहनु पर्ने हुन्छ।’

उनका अनुसार एकपटक परीक्षण गरेपछि त्यो सदाका लागि हुन्छ भन्ने हुँदैन । उनले भने, ‘कुनै व्यक्तिको अहिले परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि त्यो व्यक्ति भविष्यमा संक्रमित व्यक्तिको सम्पर्क वा संक्रमित क्षेत्रमा गएमा पुनः परीक्षण हुनु पर्छ ।’

उनले लकडाउन खुलेको अहिलेको समयमा सरकारसँगै सर्वसाधारण पनि थप चनाखो हुनु पर्ने बताए । हरेक व्यक्तिले आफ्नो सुरक्षा वा संक्रमणबाट आफूलाई जोगाउनका लागि मास्क, सामाजिक दूरी, हातको सरसफाइमा विशेष ख्याल गर्नु पर्ने उनको सुझाव छ ।

उनले भने, ‘लकडाउन खुलेसँगै चहलपहल ह्वात्तै बढेको छ। बाहिर निस्कँदा मुख्य गरी तीन कुरामा ध्यान दिन जरुरी छ। सबै भन्दा पहिला दूरी कायम गर्नु पर्छ। अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्‍यो। अर्को कुरा साबुन पानीले नियमित रुपमा हात धोइरहनु पर्‍यो।’

रेस्टुरेन्टसहितका धेरै हावा पास नहुने ठाउँमा जाँदा अझ सतर्क हुन पर्ने उनले बताए । ‘हावा पास नहुने ठाउँमा थुकका छिट्टा अलि परसम्म जानुका साथै धेरैबेरसम्म हावामा रहन सक्छन् । त्यसैले यस्तो ठाउँमा सुरक्षा सामग्री अपनाएर मात्र जानु पर्छ’, उनले भने।