आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौंको महाबौद्धमा एक व्यवसायीको परिवारमा ५ सदस्यमा देखियो कोरोना , ३ पसल सिल

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार ०७:३६ मा प्रकाशित (३ साल अघि) ८०४ पाठक संख्या

काठमाडौं । महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ ।

स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन् । सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको स्रोतले बतायो । पर्सा घर भई महाबौद्धमा बस्ने ती व्यवसायीको विस्तृत परिचय खुलाइएको छैन ।

उनको घरपरिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो। उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन ।

शुक्रराज अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीले एकै परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे । माइत आएका बेला परिवारका अन्यमा संक्रमण भएको हुन सक्ने डा राजभण्डारीले बताए । नाति, नातिनीसहित हजुरबुवा, हजुरआमा, आमालाई पनि संक्रमण पुष्टि भएपछि शुक्रबार र आइतबार अस्पतालमा भर्ना गरिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ।

डा राजभण्डारीका अनुसार कोरोना पुष्टि भएकामध्ये एक जनामा डेंगुको लक्षणसमेत देखिएको छ। स्वास्थ्य अवस्था सामान्य छ । दुई जनामा सामान्य खोकी छ। अन्य लक्षण देखिएको छैन’, डा। राजभण्डारीले भने ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा वासुदेव पाण्डेले परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिँदा जोखिमको संकेत देखापरेको बताए । ‘परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएपछि सबै जना झन् बढी सतर्क र सजग हुनुपर्छ’, उनले भने, ‘हेलचेक्र्याइँ गर्नुभएन । कोरोना नियन्त्रणमा चुनौती बढ्छ ।’ उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।