आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

म्याग्दीमा पहिरोमा परि बेपत्ता भएका १२ जनाको शव भेटियो,२३अझै बेपत्ता

गोकर्णेश्वर खबर२७ असार २०७७, शनिबार ११:१८ मा प्रकाशित (३ साल अघि) ४१७ पाठक संख्या

पोखरा – म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् ।

बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो ।

धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । उनीहरूको थप विवरण आउन बाँकी छ ।

मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

उद्धार टोली अझै मराङ पुग्न सकेको छैन । मालिका बिममा भने टोली पुगेको छ । बिममा ९ जना पहिरोमा पुरिएका छन् ।

शुक्रबार उद्धार टोली लिएर हेलिकप्टर जान लागेको थियो । तर पानी र हुस्सुका कारण तीन पटकसम्म हेलिकप्टर फर्किएको थियो ।

अझै बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन् ।

धवलागिरि गाउँपालिका ७ ताकमका पहिरोमा परि ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको एक जनाको शव शुक्रबार नै फेला परेको थियो ।