आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली चल्यो,एक दर्जन बढी घाइते,तीनको अवस्था गम्भिर

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार ०१:२२ मा प्रकाशित (३ साल अघि) २९४ पाठक संख्या

काठमाडौं – सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन।
हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण अनुसार गोलीको छर्रा लागेर केही व्यक्ति घाइते भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सानो निहुँबाट भएको झगडा राजनीतिकरण भएर ठूलो रुप लिएको बताए ।

उनले भने, ‘एक–दुई जनाबाट झगडा सुरु भएको झगडाले उग्ररुप लिएको हो । एक दर्जनभन्दा बढी घाइते भएका छन् । अहिले स्थिति नियन्त्रणमा छ ।’

घटनामा केही व्यक्तिलाई गोलीको छर्रा लागेको उनले जानकारी दिए । तर, कुन पक्षबाट गोली प्रहार भएको भन्ने स्पष्ट भइनसकेको जिसीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी विश्वमणि पोखरेलले भने घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

घाइतेमध्ये धेरै कांग्रेस कार्यकर्ता रहेको स्थानीय बताउँछन् । साथै, गोली पनि कांग्रेसकै समूहबाट प्रहार भएको स्थानीयको दाबी छ ।

अधिकांशको ढाडमा गोली लागेको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।

सबैलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । धनकौल कांग्रेस सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र हो ।