आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

जातीय विभेदविरुद्ध चेतनामुलक गीत (भिडियोसहित)

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार ०७:११ मा प्रकाशित (३ साल अघि) २९५ पाठक संख्या

जातीय विभेद र छुवाछुतको कुप्रथाले सिर्जना गरिदिएको कथित उच्च जातको अहङ्कारका कारण रुकुम पश्चिमको चौरजहारीमा बर्बर युगको झल्को दिने नरसंहारकारी घटनाको सचेतजनहरुबाट चौतर्फीरुपमा तीव्र विरोध हुँदै आएको छ । उक्त घटनाबारे प्रतिनिधिसभामा समेत जोडदार आवाज उठ्यो ।

चौरजहारीको नरसंहारकारी घटनाबारे २०७७ जेठ १८ गते प्रतिनिधिसभामा बोल्दै जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने, ‘मेरो एउटा प्रस्ताव छ छलफलका निम्ति, तपाईं हामी सबैले दलित नाम राख्दिम न, बाबुराम भट्टराई कामी भन्न किन नहुने ?’

डा. भट्टराईको उक्त अभिव्यक्तिलाई लिएर सञ्चार जगतमा तीव्र टिप्पणी भइरहेका छन् । के जातीय विभेद र छुवाछुतको यो पर्खाल कथित उच्च जातिका मानिसहरुले आफ्नो थर बदल्दैमा भत्किन्छ ? लोकगायक हेमन्त कान्छा रसाइलीको नया गीत ‘थर बदल्नु पर्दैन’ त्यही प्रश्नको उत्तर लिएर आएको छ–

रगत सबैको रातै हो सेतो हुने कुन छ
बाहुन दाइलाई बाहुन भन
कामी दाइलाई कामी भन
थर बदल्नु पर्दैन, सोच बदले हुन्छ
थर बदल्नु पर्दैन पानी चले पुग्छ….

हो, वास्तबमा हामीले बदल्नु पर्ने भनेको समाजमा जरा गाडेर बसेको कुबिचारको पिछडिएको सोच हो । छुवाछुतको कुप्रथाले हाम्रो समाजमा यति गहिरो जरा गाडेको छ कि हामी मुखले जातीय समानताको कुरा गरे पनि व्यवहारमा त्यसलाई उतार्न चुकिरहेका हुन्छौं । हामीभित्र छिपेर बसेको जातीय अहङ्कार विभिन्न रुपमा प्रकट भैरहेको हुन्छ । सामन्तवादी संस्कार र कुरीतिले हाम्रो भित्री मनमा पारेको प्रभावबाट हाम्रो त्यो ब्यवहार निर्देशित भैरहेको हुन्छ । हामी त्यसको पत्तो पाउन सक्दैनौं ।

हामीले बदल्नु पर्ने भनेकै त्यही भित्री सोंच हो । थर बदलेर लेख्दैमा सामन्तवादी कुविचारको जालोले बेरिएको त्यो भित्री चिन्तन बदलिँदैन । मुखले जातीय समानताको जुन कुरा गरिरहेका हुन्छौं हाम्रो व्यवहारमा त्यो प्रष्टि सक्नु पर्दछ । ‘थर बदल्नु पर्दैन’ गीतले त्यही भाव बोकेको छ ।

मुखले होइन व्यवहारमा नि लिन सक्नु पर्यो
ठकुरीको छोरी कामीलाई दिन सक्नु पर्यो
मन्दिरमा सबको हातको दियो जल्नु पर्छ
तिर्खा लाग्दा एक अर्कामा पानी चल्नु पर्छ
रगत सबको रातै…

हाम्रो बोली र व्यवहारबीचको गहिरो खाडल नै जातीय समानताको लडाइँमा अहिले मुख्य बाधा बनेर उभिइरहेको छ । कम्युनिस्टहरु साम्यवादी समाजका प्रवर्तक हुन् । जातीय समानताका पक्षपाती हुन् । वैज्ञानिक भौतिकवादी विचारलाई आत्मसात् गरेका सचेत मानिसहरु हुन् । सम्पूर्ण व्यक्तिगत लोभ–लालच, महत्त्वाकांक्षा र कुविचारबाट मुक्त भएपछि नै एउटा व्यक्ति कम्युनिस्ट भएको मानिन्छ ।

तर, आफुलाई कम्युनिस्ट बताउने कतिपय मानिसहरु वास्तबमा कम्युनिस्ट बन्न नसकेको उसको व्यवहारले प्रस्ट पारिरहेको हुन्छ । भाषण, प्रशिक्षण र लेख रचनाहरुमा उच्च क्रान्तिकारी भाव घन्काउनेहरु नै व्यवहारमा पुरातन विचार र संस्कारबाट अझै मुक्त हुन नसकेका प्रसस्त उदाहरणहरु पाइन्छन् । आफुलाई कम्युनिस्ट बताउने उच्च तहका नेताले सामन्तको नाइकेलाई विष्णुको अवतार मानेर पाउमा दाम चढाएको, ग्रहदशा कटाउन भैंसी पूजा गरेको, विवाहपछि पहिलोचोटी ससुराली जाँदा खसी डोर्याउँदै गएको, यस्ता कैयौं घटनाहरु हामीले देखेका र सुनेका छौं ।

भौतिकवादी कतिपय कम्युनिस्ट नेताहरुका घरमा अहिले पनि देवीदेउताको तस्बिर र मुर्तीहरुले सजिएका पूजा कोठाहरु देख्न सकिन्छ । चौरजहारीको त्यही नरसंहारकारी घटना भएको क्षेत्र कुनै बेला माओवादी सशस्त्र विद्रोहको आधार इलाका थियो । त्यहाँ युद्धकालमा ओवादीको आफ्नै स्थानीय सरकार थियो । अहिले पनि त्यहाँको स्थानीय सरकार नेकपाले नै चलाइरहेको छ । तर, पनि त्यहाँका जनताको पुरातनवादी सोंच बदलिएको रहेनछ भन्ने अहिलेको घटनाले देखाएको छ । त्यहाँका कथित उच्च जातिमा रहेको जातीय अहङ्कारवादी सोंच नै त्यस्तो बर्बरतापूर्ण नरसंहारकारी घटनाको मुख्य कारक थियो ।

त्यसैले यो पुरानो सोंचलाई बदल्ने काम निकै जटिल र कठिन छ । तर, त्यो कठिन काम पूरा नगरी हामीले समतामुलक सभ्य समाजको निर्माण गर्न सक्दैनौं । पुरातनवादी सोंच, विचार र व्यवहारलाई बदल्न जनतामा समतामुलक चेतना जागृत गराउन लगातार सांस्कृतिक क्रान्ति चलाइराख्नु पर्दछ । समाज बदल्न तम्सनेहरु सर्वप्रथम आफू बदलिन सक्नु पर्दछ । उनीहरुको जीवनशैली र व्यवहार बदलिएको हुनु पर्दछ । हेमन्तको यस गीतले सभ्य र समतामुलक समाज निर्माणका लागि समाजका अगुवाहरुले आफ्नो व्यवहारमा सर्वप्रथम परिवर्तन गर्नुपर्ने कुरामा जोड दिएको छ ।

दमाइ दाइले लुगा सिलाइ शरीर छेक्नु पर्ने
तिनै दाइले छुँदा किन सुनपानीले छर्ने
दलित कोटा होइन अब गरिब कोटा बनाउ
सानो ठूलो जात हुँदैन व्यवहारबाट जनाउ
रगत सबको रातै….

छुवाछुत र जातीयताको यो पर्खाल बास्तबमा समाजका हुनेखाने सामन्ती वर्गले दीनदुःखीलाई एकजुट हुन नदिन, आफ्नो लुटको स्वर्गलाई बचाइराख्न खडा गरेको पर्खाल हो । यो जात ठूलो, त्यो जात सानो भन्ने शासकहरुले आफ्नो शोषण सत्तालाई जोगाइराख्न बसालेको थिति मात्र हो । जुनसुकै जात भित्र पनि शोषक र शोषित वर्ग हुन्छन् । जुनसुकै जातको भए पनि शोषकहरुको स्वार्थ मिलेको हुन्छ । उनीहरु मिलेरै दीनदुःखीलाई लुटिरहेका हुन्छ्न् ।

त्यो शोषणविरुद्धमा जुध्न पनि श्रम गरेर जीविकोपार्जन गर्ने श्रमजीवी वर्गहरु एकजुट हुनु पर्दछ । त्यसरी सबै जातभित्रका गरिब र दीनदुःखीहरु एकजुट भएर अििघ बढियो भने मात्र हाम्रो लडाइँ बलियो हुनेछ । त्यो आन्दोलनका अगाडि शोषक ठालुहरु झुक्न बाध्य हुनेछ्न् । समाजमा जातीय असमानताको जुन रेखा कोरिएको छ, त्यसलाई पूर्णरुपमा मेटाउन सक्ने भनेको वर्गीय आन्दोलनले नै हो । त्यसैले जातीय विभेद र छुवाछुतविरुद्धको आन्दोलनलाई पनि वर्गीय मुक्ती आन्दोलनसँगै जोडेर अगाडि बढाउनु पर्दछ । त्यसरी अघि बढे मात्र हामीले त्यो आन्दोलनलाई निष्कर्षमा पुर्याउन सक्नेछौं ।

लोक गायक हेमन्त कान्छा र सर्जक सपना रसाइलीसँग मेरो कुनै व्यक्तिगत चिनजान छैन । उहाँहरुलाई जति चिनिएको छ, यस्तै गीतहरुमार्फत नै चिनिएको छ । तर, उहाँहरुले ल्याउनुभएको गीत ‘थर बदल्नु पर्दैन’ले जातीय समानताको पक्षमा दरिलो आवाज उठाएको पाएर नै यो समीक्षा कोर्ने जमर्को गरेको हुँ ।

गीतमा हेमन्तलाई वरिष्ठ लोकगायिका देवी घर्तीले साथ दिनुभएको छ । संगीत, संगीत संयोजन र भिडियो निर्देशन समेत हेमन्तकै रहेको छ। भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । हेमन्तकै युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतमा सुरवीर पण्डित , अन्जु निरौला, हेमन्त कान्छा, रबिना भण्डारी, चक्र साउद आरसी, दीपा गुरुङ, देवेन्द्र भण्डारी, रबिना गुरुङलगायत करिब दुई दर्जन कलाकारको अभिनय रहेको छ । सुरवीर, अन्जु र हेमन्तको अभिनय उत्कृष्ट छ । अन्य कलाकारहरुले पनि आ–आफ्नो भूमिकामा राम्रो अभिनय गरेका छन् । सबैको एकीकृत प्रयासबाट राम्रो गीत र भिडियो निर्माण भएको छ । सबैभन्दा राम्रो पक्ष त गीतले दिन खोजेको सन्देश उत्कृष्ठ छ ।

समाजको चेतनाको स्तर पहिलेभन्दा धेरै माथि उठिरहेको छ । आजभन्दा ६ वर्षअघि अर्थात् २०७१ सालको तिजको सँघारमा जातीय समानताको यस्तै भाव बोकेको गीत पशुपति शर्मा र देविका केसीको स्वरमा थियो । ‘हामी नेपाली हौ’ बोलको उक्त गीतमा कामी, सार्की, दमाई शब्द रहेको भन्दै कतिपय दलित अधिकारकर्मी भनिनेहरुले नै तीव्र विरोध गरेका थिए ।

कस्तो विडम्बना, जसको मुक्तिको यात्रालाई सहयोग पुर्याउने उद्देश्यले गीत आएको देखिन्थ्यो, त्यही समुदायभित्र बाटै विरोध । जनगायक जीवन शर्मा र दलित अधिकारकर्मी आहुतीले भने पशुपति शर्माको उक्त गीतलाइ ढृढतापूर्वक समर्थन गर्नुभएको थियो । तर, विरोधन यति चर्को रुपमा उठेको थियो कि त्यसबाट तर्सिएर गीतका सर्जक पशुपति शर्माले युटुब बाट गित हटाएको घोषणा गर्नु परेको थियो ।

अहिले हेमन्त कान्छा रसाइलीलाई सायद त्यो समस्याको सामना गर्नु परेको छैन । ‘हामी नेपाली हौं’मा जस्तै ‘थर बदल्नु पर्दैन’मा पनि जातीय समानताका पक्षमा जोडदार आवाज उठाइएको छ । यस प्रकारका गीतहरुले छुवाछुत र जातीय विभेदविरुद्धको अभियानमा लागेकालाई प्रेरणा र ऊर्जा थपिरहेका हुन्छ्न् । यस्ता खालका गीतहरु बढी भन्दा बढी निस्कनु पर्दछ । जसले समाजमा सचेतना फैलाउन मद्दत पुर्याउने छन् ।

सारंगीको मीठो धुनबाट धेरैको मन जित्दै आउनुभएका हेमन्तको यो गीतलाई पनि श्रोतागणबाट अपार माया प्राप्त हुने विश्वास लिन सकिन्छ । विभेदरहित समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने खालका यस्तै चेतनामुलक सृजनाहरुले आगामी दिनमा पनि निरंतरता पाइरहुन् लोकगायक हेमन्त कान्छालगायत यो गीत निर्माणमा योगदान पुर्याउने सम्पूर्ण टिमका सदस्यहरुलाइ हार्दिक बधाइसहित गीतको उच्च सफलताको शुभकामना पनि ।