आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच भेटवार्ता,राजदूत किकुटाद्धारा मायाको चिनो प्रदान

गोकर्णेश्वर खबर७ श्रावण २०७८, बिहीबार १८:२० मा प्रकाशित (२ साल अघि) २५६ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ । जापानी राजदूत किकुटाले प्रधानमन्त्री देउवालाई बिहीबार बधाई दिँदै कार्यकाल सफलताको कामनासमेत गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर जापानी राजदूत किकुटाले मायाको चिनोसमेत प्रदान गरेका छन्। उक्त भेटपछि प्रधानमन्त्री देउवाले ट्विट गर्दै मायाको चिनो ग्रहण गरेको तस्बिर सार्वजनिक गरेका छन्।

उनले जापानले पठाएको कोरोनाविरुद्धको १६ लाख एस्ट्राजेनेका खोप चाँडै काठमाडौं आइपुग्नेसमेत बताएका छन्।

उनले भनेका छन्, ‘जापानले दिन लागेको १६ लाख डोज खोप चाँडै काठमाडौं आइपुग्ने छ। यो राम्रो समाचारका लागि धन्यवाद। आगामी दिनमा थप खोप उपलब्ध गराउन आग्रह गर्दछु।’

यसअघि चिनियाँ राजदूत होउ यान्छीले पनि प्रधानमन्त्री देउवालाई बधाई दिँदै १६ लाख डोज खोप उपलब्ध गराउने बताएकी थिइन्। भारत सरकारले पनि चाँडै नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।