आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

लुम्बिनी क्षेत्रको विकासका लागि एनआरएनए र ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

गोकर्णेश्वर खबर१५ चैत्र २०८०, बिहीबार ०१:५० मा प्रकाशित (१ महिना अघि) १४४ पाठक संख्या

काठमाडौं । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि लुम्बिनी साँस्कृतिकसहित ४ नगरपालिकाले अग्रसरता देखाएका छन् । लुम्बिनी र बुद्ध परिपथ क्षेत्रका पर्यटकीय स्थल एवम् धार्मिक स्थलसाथै विश्व शान्तिका लागि बुद्धको मार्गदर्शन र शान्तिको सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी लुम्बिनी र बुद्ध परिपथको पर्यटन प्रवर्द्धन र विकास लागि रुपन्देही,कपिलवस्तु र नवलपरासीका ४ नगरपालिकाले अग्रसरता देखाएका हुन ।

विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मस्थल विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देही, बुद्धले २९ बर्ष बिताएको कपिलवस्तु नगरपालिका तिलौराकोट कपिलवस्तु,बुद्धकी आमा मायदेवीको माईत (बुद्धको मावली) देवदह नगरपालिका रुपन्देही,बुद्धको अष्टधातु रहेको रामग्राम नगरपालिका नवलपरासी र गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए,आईसीसी)बीच लुम्बिनी र बुद्ध परिपथ क्षेत्रका पर्यटकीय स्थल एवम् धार्मिक स्थल, विश्व शान्तिका लागि बुद्धको मार्गदर्शन ,शान्तिको सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी लुम्बिनी र बुद्ध परिपथको पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्यका लागी बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समझदारी पत्रमा (एमओयू )हस्ताक्षर गरिएको हो ।

समझदारी पत्र (एमओयू)मा रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका नगर प्रमुख श्री सजरुद्दिन मुसलमान, नवलपरासी रामग्राम नगरपालिका नगर प्रमुख श्री धनपत यादव, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख श्री सुदिप पौडेल, रुपन्देही देवदह नगरपालिकाका नगर प्रमुख श्री ध्रुब प्रसाद खरेल र गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्री केसीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रिय कार्यालय बालुवाटारमा आयोजित हस्ताक्षर समारोहमा मन्तव्य राख्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले गौतम बुद्ध जन्मस्थल, शान्तिभूमि धार्मिक एवं पर्यटकीय क्षेत्र प्रवर्द्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बिच संस्थागत रुपमा सम्बन्ध कायम हुनुले आफैमा महत्वपूर्ण अर्थ राखेको बताए ।

उनले विश्व शान्तीका अग्रदूत भगवान गौतम बुद्ध जन्मस्थल, शान्तिभूमि धार्मिक एवं पर्यटकीय क्षेत्र बुद्ध परिपथका चार नगरपालिका र गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् बिच संस्थागत रुपमा सम्बन्ध कायम हुनुले धेरै खुशी लागेको बताए । “यस ऐतिहासीक र महत्वपूर्ण अवसरमा हामी सबैलाई बधाई र धन्यवाद प्रकट गर्दछौ ” प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने -“यस सम्बन्धले चार पालिकामा रहेका पर्यटकिय एवम् धार्मिक स्थलको राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा प्रचार(प्रसार, पर्यटन प्रवर्द्धन र पालिकाको विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका असल अभ्यास, अनुभव अदानप्रदान र पर्यटन एवं संस्कृतिको प्रवर्द्धन, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण सरंक्षण र खेलकुद लगायतका क्षेत्रको विकासमा सहकार्य हुनेछ ।”

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले विश्व शान्तिका लागी बुद्धको मार्गदर्शन र शान्ति सन्देश विश्वभर फैलाउन बुद्धसंग सम्बिन्धत लुम्बिनी साँस्कृतिकसहित ४ नगरपालिका र गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदबीच संस्थागत सम्बन्ध र सहकार्यले धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे । “चार नगरपालिका र अन्तर्राष्ट्रिय संघ संस्थाबीच संस्थागत सम्बन्ध विस्तार भै बिकास अनुभव र सहयोगको आदानप्रदान गर्न सहयोग पुग्नेछ । सहकार्यका लागि पहिलो आधार पर्यटन हुन सक्छ । चार पालिकामा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार र पर्यटन प्रवर्द्धन गर्नका लागि भरपुर सहकार्य गर्न सकिन्छ”-उनले भने

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले विश्वभर रहनुहुने एनआरएनएका पदाधिकारीहरु एवम् सम्पुर्ण नेपाली नागरिकहरुलाई विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी एवम् बुद्ध परिपथको भ्रमणका लागि निमन्त्रणा समेत गरे ।

कार्यक्रममा रामग्राम नगरपालिका नवलपरासीका, देवदह नगरपालिका तथा कपिलवस्तु नगरपालिकाका नगर प्रमुखले शुभकामना मन्तब्य राखेका थिए । सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोज कुमार पोखरेलले पर्यटन प्रवर्द्धनका हिसाबले बुद्ध परिपथका नगरपालिकाहरु र गैरआवासीय नेपाली संघ बीचमा भएको यो समझदारीले नेपालका पर्यटकीय गन्तब्यस्थलहरुलाई विश्व पर्यटन बजारमा प्रचारप्रसार गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास सहित मन्त्रालयको तर्फबाट शुभकामना व्यक्त गरे । समारोहको समापन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपाल सरकारले राजनीतिक पाटीका नजिकका मान्छेलाई नभई गैरआवासीय संघको चुनावबाट निर्वाचित पदाधिकारीलाई विभिन्न देशको पर्यटन प्रवर्द्धकका रुपमा मनोनीत गरी जिम्मेवारी दिन सकेमा मात्र नेपालको पर्यटनको बिश्वस्तरमा दिगो प्रवर्द्धन हुने धारणा व्यक्त गरे ।

कार्यक्रमको समग्र समन्वयको कार्य लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुल्शिराम लामिछानेले गरेका थिए ।