आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सरकारले तत्काल कृषकको घाउमा मलम लगाओस् : सांसद गौतम

गोकर्णेश्वर खबर१ चैत्र २०८०, बिहीबार १५:४२ मा प्रकाशित (१ महिना अघि) ६५ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सरकारले किसानको समस्या बुझेर समाधान गर्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसअघि समेत आफूले कृषि र किसानका विषय उठाएको उल्लेख गर्दै नवगठित सरकारको पनि गम्भीर ध्यानाकर्षण गर्न चाहेको बताइन् ।

‘कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्नै सकेको छैन’ उनले भनिन् । किसान समस्यै समस्यामा रहेको सांसद गौतमको भनाइ छ । उनी थप्छिन्, ‘बिउ बिजनमा त्यतिकै समस्या छ । बल्ल–बल्ल बिउ बिजन पाएर रोपे मलको समस्या, मल पाए सिँचाइको समस्या, बाली उम्रिए रोगको समस्या, योबाट पार लागेर उब्जनी भए बजारको समस्या । किसान जसरी पनि पीडामा छन् ।’

बालीमा आधारित किसानको मात्र नभएर दूध किसान, मह किसान, मासु उत्पादन गर्ने किसानको पीडा पनि त्यतिकै रहेको भन्दै गौतमले सरकारको ध्यानाकर्षण गराएकी छन् । लामो समयदेखि भुक्तानी नपाएका कारण किसानहरू रुँदै बस्नु परेको उनको भनाइ छ ।

नेपालको समग्र कृषि प्रणाली नै सङ्क्रमित र प्रदूषित बनेको भन्दै उनले यसतर्फ सरकारले ख्याल गर्नुपर्ने बताइन् । ‘२०३० को दशकमा धान बेचेर प्रमुख आम्दानी गर्ने मुलुक अहिले वार्षिक ४५ अर्ब हाराहारीको धान, चामल र कनिका किनिरहेको छ’ सांसद गौतम भन्छिन्, ‘छिटोभन्दा छिटो कृषकहरूको भुक्तानी होस् र सरकारले कृषकको घाउमा मलम लगाओस् । तथ्यांकको आधारमा दीर्घकालीन कृषि नीति तय गरियोस् ।’