आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

बाँसबारीको जग्गा हिनामिना प्रकरणमा अरु पनि तानिन सक्ने सीआईबीको संकेत

गोकर्णेश्वर खबर१९ माघ २०८०, शुक्रबार १६:४७ मा प्रकाशित (२ महिना अघि) ५४ पाठक संख्या

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्ने जनाएको छ।

सीजी ग्रुपका सीजी होल्डिङ्गसका अध्यक्ष, प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरिएकोबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले यस्तो जनाएको हो।

सीआईबीका प्रवक्ता एवम् एसएसपी नवराज अधिकारीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको बताए।

‘हामीले यस प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिनाभन्दा धेरै समय लगायौँ’, उनले भने, ‘यसको अनुसन्धान जारी रहन्छ। अनुसन्धान हुँदै जाँदा अरु व्यक्ति पनि तानिने सम्भावना छ।’

उनले बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष थापा र सीजी ग्रुपअन्तर्गतको चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको बताउँदै अनुसन्धानका क्रममा यो हिनामिनामा जोडिएका अरु पनि तानिन सक्ने बताए।

‘अहिले जग्गा दिने र लिने व्यक्ति दुवै अनुसन्धानमा छन्। थप व्यक्तिहरू पनि पक्राउ पर्न सक्छन्’, उनले भने, ‘तत्काललाई यसमा कुनै राजनीतिक तहमा निर्णय भएको देखिँदैन। नीतिगत रुपमा निर्णय भएको पनि देखिएन।’

अधिकारीले तत्कालीन अध्यक्ष थापाले आफ्नै तजबिजीमा बाँसबारीको जग्गा सीजीको हातमा दिएको पनि बताए।

‘तत्कालीन अध्यक्ष थापाले नै यो जग्गा निजी कम्पनीलाई दिएको देखिएको छ’, उनले भने, ‘महालेखा परीक्षकले जुन प्रतिवेदन दिएको छ। त्यसमा पनि यो जग्गाबारेको निर्णयलाई अपरादर्शी भनिएको छ।’