आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा तत्कालीन कार्यकारी प्रमुखसहित २ पक्राउ

गोकर्णेश्वर खबर१८ माघ २०८०, बिहीबार १४:४० मा प्रकाशित (२ महिना अघि) ४३ पाठक संख्या

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको छ।

व्यापारी अरूण चौधरी र कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ।

‘उनीहरूले भटाभट सरकारी जग्गा विभिन्न मितिमा आफ्नो नाममा बनाएको देखिन्छ। यसबारे मन्त्रिपरिषदले कुनै पनि निर्णय गरेको पाइएन,’ स्रोतले भन्यो, ‘सबै मिलेमतोमा आफ्नो नाममा गरेको देखिन्छ। अहिले जग्गाका मुख्य शेयर धनी चौधरी र थापालाई पक्राउ गरियो। अरू पनि शेयर धनी हुन सक्छन्, ती पक्राउ पर्छन्।’

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेकोबारे सिआइबीले अनुसान्धानलाई जारी राखिएको जनाएको छ।