आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

बम्जनले सुरु गरे जलेश्वर कारागारमै योग-ध्यान

गोकर्णेश्वर खबर२९ पुष २०८०, आईतवार ०९:२२ मा प्रकाशित (३ महिना अघि) ६२ पाठक संख्या

काठमाडौँ । बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले महोत्तरीको जलेश्वर कारागारमै योग ध्यान सुरु गरेका छन्।

सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका बम्जनले कारागारभित्रै योग ध्यान सुरु गरेका हुन्।

उनले आफू सुत्ने कोठामै योग ध्यान गर्न थालेका जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले जानकारी दिए।

‘उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्न थालेका छन्,’ जेलर साहले भने, ‘उनी शान्त देखिन्छन्। अन्य कैदीबन्दीसँग घुलमिल हुँदै गएका छन्। अरु कैदीसँग पनि गफगाफ गरिरहेका हुन्छन्।’

अन्य कैदीबन्दीलाई पकाएको मेसको खाना खान अस्वीकार गरेका बम्जनलाई कारागारमा रहेका बाबा (जोगी)हरुसँगै साकाहारी खाना खाने व्यवस्था मिलाइएको छ।

‘उनले लसुन, प्याज र बेसार नहालेको खाना मागेपछि हामीले अन्य कैदीबन्दीलाई बनाएको खाना दिएका छैनौँ,’ जेलर साहले भने, ‘उनलाई बिहानको खाना आफन्तले नै ल्याइदिन्छन्, साँझको खाना जोगीहरुकै मेसमा खान्छन्।’ जलेश्वर कारागारमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ५र७ जना जोगी छन्।

बम्जनलाई पनि उनीहरुकै मेसमा साकाहारी खाना खाने व्यवस्था मिलाइएको हो।

बम्जनलाई सुत्ने ओछ्यान छुट्टै दिए पनि छुट्टै कोठामा नराखिएको उनले बताए। अन्य कैदीबन्दीसँगै एउटै कोठामा उनलाई राखिएको साहले जानकारी दिए। जलेश्वर कारागारमा छ सय भन्दा धेरै कैदी बन्दीलाई राखिएको छ।