आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

गोकर्णेश्वर खबर१९ पुष २०८०, बिहीबार ११:०३ मा प्रकाशित (३ महिना अघि) ५९ पाठक संख्या

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका लागि परराष्ट्रमन्त्री साउदको निमन्त्रणामा उनी काठमाडौं आएका हुन् । भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो ।

उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ ।

उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बिहान ११ बजे शीतलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुने तालिका छ ।

दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

उनी शुक्रबार बिहान ८ बजे पूजाआजाका लागि पशुपति जाने तालिका छ । दुई दिने भ्रमण सकेर उनी शुक्रबार १२ बजे भारत फर्किने जनाइएको छ ।