आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रचण्डसँग ओलीले भने- राष्ट्रिय सभामा एमालेलाई एक्ल्याएर नजानुस्

गोकर्णेश्वर खबर१८ पुष २०८०, बुधबार १९:२५ मा प्रकाशित (३ महिना अघि) ६४ पाठक संख्या

काठमाडौं । बालुवाटारमा बुधबार अपराह्न बसेको सत्ताघटक चार दलको बैठक सकिएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बालुवाटारमा करिब दुई घन्टा छलफल भएको हो।

छलफलमा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा चुनाव, भारतीय विदेश मन्त्री एस जयशंकरको बिहीबारदेखि हुने भ्रमणलगायत विषयमा कुरा राखेका छन्।

साथै प्रधानमन्त्री दाहालले राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जानेबारे अन्य दलको धारणा मागेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँगको कुराकानीमा राष्ट्रिय सभामा एमालेलाई नएक्ल्याउन आग्रह गरेको उनको बिफ्रिङ थियो।

प्रधानमन्त्री दाहालले आफूसँग ओलीले राखेका कुराबारे गठबन्धन बैठकमा बिफ्रिङ गरेका हुन्।

छलफलपछि बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटलगायत विषयमा कुराकानी गरिएको र बिहीबार बिहान ९ बजे पुनः सत्ता गठबन्धनका दलहरू छलफलमा जुट्ने बताए।

‘राष्ट्रिय सभाको सिट बाँडफाँट कसरी गर्ने भन्नेबारे आज बैठकमा छलफल गरियो, विषय टुंगिएको छैन। भोलि बिहान ९ बजे फेरि छलफल गर्छौं,’ उनले भने, ‘२० सिट खाली हुँदैछ। त्योमध्ये एमालेका ९ सिट गठबन्धनका कुन दलले कति लिने भन्ने छलफल हो। अरू खाली भएका आ आफ्नो सिट लिने कुरा छ।’

उनकाअनुसार बैठकमा एमालेलाई पनि सहभागी गराएर जाने कि भन्ने विषयमा कुराकानी चलेको थियो।

‘प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षले हामीलाई जिरो नगर्नुस् भन्नुभयो भन्ने कुरा प्रधानमन्त्रीले राख्नुभयो,’ उनले भने, ‘एमालेको ठोस कुरा के हो बुझेर मात्र अघि बढ्नुपर्छ भनेर हामीले भनेका छौं।’ एमालेलाई पनि राष्ट्रिय सभामा समेटेर जान कांग्रेस र माओवादी सकारात्मक छन्।

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। सत्ता गठबन्धनबीच राष्ट्रिय सभा चुनावमा साझा उम्मेदवार तय गरेर जाने सहमति छ तर कसले कति सिट लिने भन्ने टुंगो लागिसकेको छैन।