आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

वीर अस्पतालका निर्देशक डा. पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

गोकर्णेश्वर खबर३ पुष २०८०, मंगलवार १६:२० मा प्रकाशित (४ महिना अघि) ६४ पाठक संख्या

काठमाडौँ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले मंगलबार आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले पौडेललाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले उनलाई गत मंसिर १४ गतेदेखि पदबाट हटाउने निर्णय गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले विभिन्न आरोपसहित पदबाट हटाएपछि पौडेल मंसिर १८ गते सर्वोच्च पुगेका थिए।

मन्त्री बस्नेतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउनुको कारण खुलाएका थिएनन्।

मंसिर १४ गते मन्त्रालयले कर्मचारी प्रशासन शाखाका उपसचिव कृष्ण थापाको हस्ताक्षरमा एउटा पत्र पठाएर उनलाई हटाइएको थियो।

‘तपाईँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको निर्देशकको जिम्मेवारीमा रहनुभएकोमा अर्को निर्णय नभएसम्म निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी मिति २०८०।०८।१५ गतेदेखि यस मन्त्रालयमा हाजिर गर्न आउनुहुन यस मन्त्रालय (मा मन्त्रीस्तर) को मिति २०८०।०८।१४ को निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको थियो।