आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

कांग्रेस गण्डकीको सम्मेलनमा ‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं’ लेखिएको ब्यानर टाँगिएपछि..

गोकर्णेश्वर खबर३ पुष २०८०, मंगलवार १५:३६ मा प्रकाशित (४ महिना अघि) ३०५ पाठक संख्या

पोखरा । सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान भएकाहरुलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेस चरित्र पुनःस्थापित गरौं’ मुख्य नारा लेखिएको थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवा पोखरा आइपुगेपछि ब्यानरमा लेखिएको नाराका विषयमा प्रदेश सभापति शुक्रराज शर्मासँग रिसाएका थिए । कांग्रेस गण्डकीका एक पदाधिकारीकाअनुसार ब्यानरमा सभापतिको फोटो नभएकोप्रति पनि देउवाको आपत्ति थियो । त्योभन्दा पनि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य किन राखेको भन्दै देउवाले आपत्ति जनाएको ती पदाधिकारीले जानकारी दिए ।

नाराका विषयमा देउवा र प्रदेश सभापति शर्माबीच भनाभन नै भएको थियो । कार्यक्रम सुरु भइसक्नुपर्ने बेलासम्म पनि देउवा र शर्माबीच नाराका विषयमा विवाद भएको थियो । देउवाको निर्देशनपछि कार्यक्रम सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्र ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यमा हरियो टेप टाँसेर कार्यक्रम सुरु भएको हो ।

‘व्यानरमा सभापतिकै फोटो नभएको र व्यानरमा लेखिएको नाराप्रति पनि देउवाजीको आपत्ति रह्यो । त्यो नाराले पार्टीमाथि झनै प्रश्न उठ्ने उहाँको भनाइ थियो’, सँगै रहेका ती व्यक्तिले भने ।

नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले भने त्यो वाक्यांश अशुद्ध भएका कारण टेप टाँसिएको बताए । ‘ब्यानरका नारा गण्डकीले नै तयार पारेको हो । ब्यानरमा अशुद्ध लेखिएकाले हटाइएको भन्ने मैले जानकारी पाएको छु’ लामिछानेले भने, ‘यसबारे यथार्थ मैले नै पनि पत्ता लगाइसकेको छैन ।’

भर्खरै कांग्रेस नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका बेला त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने देउवाको अनुमान हुनसक्ने नेताहरुको भनाइ छ ।

निर्वाचित भएको दुई वर्षपछि नेपाली कांग्रेस गण्डकीको प्रथम सम्मेलन भएको हो । पोखरा सभागृहमा आज र भोलि चल्ने सम्मेलनमा राजनीतिक, सांगठनिक, आर्थिक लगायतका प्रतिवेदनमाथि छलफल हुनेछ ।

नेपाली कांग्रेसको प्रथम सम्मेलनको ब्यानर सोमबार राति नै तयार गरिएको थियो । मंगलबारदेखि पोखरा सभागृहमा सुरु भएको व्यानरको नारा गण्डकी प्रदेश समितिले नै तयार गरेको हो ।

जनता दास र नेताहरु मालिक हुन् भन्ने व्यवहारले देखिइराखेको गण्डकी प्रदेश सभापति शर्माले कार्यक्रममा बताए । सत्तामा जहाँ गयो, त्यहीं विवादित, जुन ठाउँमा जित्यो, त्यहीं जनताको सेवक नेताले नमानेको उनको भनाइ थियो ।

‘शेरबहादुर देउवा दाइ यहाँ हुनुहुन्छ, उहाँ हामी सबैको आदरणीय नेता हो तर जनताको दृष्टिमा उहाँ सबैभन्दा पहिलो सेवक हो’ उनले भने, ‘हामी कोही मालिक होइनौं, जनता हुन् ।’ देश संघीय संरचनामा गइसकेको भए पनि संघले कानुन नबनाइदिएर प्रदेश सरकारहरुले काम गर्न नसकिरहेको भन्दै शर्माले देउवाको ध्यानाकर्षण समेत गराए ।