आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

अमरेश जस्ताका कुराको जवाफ दिँदै हिँड्नु उचित हुँदैन : प्रधानमन्त्री प्रचण्ड

गोकर्णेश्वर खबर३ पुष २०८०, मंगलवार १५:२४ मा प्रकाशित (४ महिना अघि) ३०९ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिद(बिक्री प्रकरणमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाललाई जोडेकोमा आपत्ति जनाएका छन्।

एनसेलको सेयर खरिद-बिक्री प्रकरणलाई लिएर संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूका जिज्ञासाको उत्तर दिने क्रममा दाहालले यस्तो भनेका हुन्।

दाहालले आफ्नो परिवारमा अब दुईजना मात्रै छोरी बाँकी रहेको बताउँदै अनावश्यक आरोप नलगाउन सांसदहरूलाई सुझाए।

‘हाम्रो परिवारमा अब तीनजना बाँकी छौँ। मसँग अब दुई छोरी छन्। एउटी उतै भरतपुरतिर मेयर बनेर सक्रिय रहेको कुरा तपाईंहरुलाई थाहै छ’, उनले भने, ‘मसँग एकजना गंगा दाहाल छ। तर ऊ कस्ती छ भन्ने तपाईंहरु जानकार हुनुहुन्छ। विचरा गंगालाई जोडेर नभएको कुरा उछालियो। यो लोकतन्त्र र संविधानविरुद्धको हमला हो।’

दाहालले आफूलाई हमला नगरी अहिलेको व्यवस्था नउल्टिने बुझेकाले आक्रमण गरिरहेको पनि बताए।

‘प्रचण्डलाई हमला नगरी यो व्यवस्था उल्टिँदैन भन्ने छ। एकजना सांसद (डा. अमरेश सिंह) ले मलाई अनेक आरोप लगाइरहेका छन्। तपाईंहरूले पनि कुरा उठाउनु भएको छ। उनी जस्ताका कुराको जवाफ दिँदै हिँड्नु उचित हुँदैन’, दाहालले भने।