आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

डा. गोविन्द केसीले तोडे अनशन

गोकर्णेश्वर खबर२ पुष २०८०, सोमबार १८:१७ मा प्रकाशित (४ महिना अघि) ८७ पाठक संख्या

काठमाडौँ । विभिन्न मागसहित सुदूरपश्चिमको राजधानी धनगढी पुगेका डा. गोविन्द केसीले यसपटक तीन दिनमै अनशन तोडेका छन्।

यही शुक्रबारदेखि धनगढीको लक्ष्मीनारायण मन्दिर परिसरमा अनशन बसेका उनले सोमबार दिउँसो आफ्नो आन्दोलन रोकेका हुन्।

गेटा मेडिकल कलेजमा अनशन बस्न काठमाडौँबाट पुगेका उनलाई त्यहाँ स्थानीय संघर्ष समितिले प्रवेश गर्न दिएको थिएन। संघर्ष समितिले रोकेपछि विवादमा उत्रिएका उनी लक्ष्मीनारायण मन्दिरमा पुगेर अनशन बसेका थिए।

डा. केसीलाई सोमबार स्थानीय रेनुका चौधरी र अन्जली नेपालीले पानी पिलाएर अनशन तोडाएका हुन्। उनी दर्जनौँपटक अनशन बसिसकेका छन्।

गेटामा अवरोधपछि उनी लक्ष्मीनारायण मन्दिर पुगेर तीन दिन मात्रै अनशन बस्ने बताएका थिए।

यसअघि गत शुक्रबार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यले प्रतिष्ठानको विषय केसीलाई आफ्नो मुद्दा नबनाउन आग्रह गरेका थिए।

सरकारले पटक–पटकका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार साँझ ५ बजेदेखि तीन दिने अनसन घोषणा गरेका थिए।

केसीले गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न माग गरेका थिए। तर, आफूहरूले विश्वविद्यालय चाहिने माग गरेकाले केसीलाई साथ दिन नदिने अडान संघर्ष समितिका सदस्यहरूले राखेका थिए।