आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात

गोकर्णेश्वर खबर२८ मंसिर २०८०, बिहीबार १६:३८ मा प्रकाशित (४ महिना अघि) ३४५ पाठक संख्या

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ।

बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो।

स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेको देखिन्छ। आक्रमण गर्ने व्यक्ति राईको एउटा हात भने सुरक्षाकर्मीले समाएको देखिन्छ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ।

‘उसको व्यवहार शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको छ,’ उनले भने।

ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका थिए।

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार मादक पदार्थ सेवन गरेका व्यक्तिले ओलीमाथि हात उठाएका थिए।

‘उनले मादक पदार्थ सेवन गरेको पाइएको छ,’ उनले भने, ‘कुनै राजनीतिक कार्यकर्ता होइनन्। उनलाई नियन्त्रणमा लिइएको छ।’

अध्यक्ष ओलीसँगै रहेका एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले मापसे गरेका व्यक्ति अध्यक्ष ओलीलाई माला लगाउन आएको र अनियन्त्रित भएर आफैं लडेको बताएका छन्।