आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

फिदिममा लट्ठीसहित पहिचानवादी युवाको मार्चपास

गोकर्णेश्वर खबर२७ मंसिर २०८०, बुधबार १७:५० मा प्रकाशित (४ महिना अघि) २५० पाठक संख्या

पाँचथर ।  प्रदेशको नाम कोशी राखिएकोमा विरोध जनाएर आन्दोलन गरिरहेको पहिचानवादी युवा दस्ताले पाँचथरको सदरमुकाम फिदिममा लट्ठी बोकेर मार्च पास गरेका छन् ।

प्रदेश न १ पुनः नामकरण सयुक्त संघर्ष समितिको आह्वानमा मार्च पास भएको हो । समितिले विभिन्न गाउँबाट युवाहरू भेला पारी १ हजार १ सय ११ सदस्यीय युवा दस्ता घोषणा गरेको छ ।

फिदिम माविको खेलमैदानमा भेला भएका युवाहरूले पहिचानका लागि युवा लेखिएको सेतो भेस्ट लगाएका थिए । प्रदेशको नाम कोशी अस्वीकार्य भएकाले आन्दोलनको माहोल बढाउन युवा दस्ता घोषणा भएको दाबी गरिएको छ ।

प्रदेशका १४ वटा जिल्लामा दस्ता घोषणा गर्ने कार्यक्रमअनुसार पाँचथरमा मार्चपास गराइएको केन्द्रीय उपकमाण्डर ऐविराज आङदेम्बेले बताए । उनका अनुसार सामान्य परेडसमेत खेलाइएको छ ।

विभिन्न ठाउँबाट भेला भएका युवाहरूले कोशी नामकरण फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । सदरमुकाम फिदिममा विभिन्न चोकमा परिक्रमा गरी फेरि खेलमैदान पुगेर दस्ता घोषणाको कार्यक्रम राखिएको थियो ।

नेकपा एमालेको मध्यपहाडी यात्रा आइपुग्न केही दिन मात्र अगाडि पहिचानवादीले मार्चपास गराएका हुन् ।

जेठ–१३ गतेबाट पहिचानका लागि युवा दस्ता गठन गर्न थालिएको बताइएको छ । सांकेतिक विरोध जनाउन लठ्ठि बोकिएको सयुक्त संघर्ष समिति पाँचथरका संयोजक सुवास तुम्बापो काङसोरेले जानकारी दिए ।

पालिकास्तरीय कमाण्ड बनाएर दस्तालाई परिचालन गरिने उनको भनाइ रहेको छ । उनीहरूले बिहीबार चतुरे, जोपोखरी, गोपेटार, च्याङथापु, थर्पुलगायतका बजारमा मसाल जुलुस गर्ने घोषणा गरेका छन् ।