आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

तेस्रो तामाङ मौलिक संगीत महोत्सवको तयारी अन्तिम चरणमा

गोकर्णेश्वर खबर२७ मंसिर २०८०, बुधबार ०९:१५ मा प्रकाशित (४ महिना अघि) १८५ पाठक संख्या

मंसिर २६, काठमाडौँ । नेपाल तामाङ कलाकार संघले आयोजना गर्न लागेको तेस्रो तामाङ मौलिक संगीत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

मंसिर २९ र ३० गते काठमाडौँको चुच्चेपाटी बौद्ध स्थित हयात होटल ग्राउण्डमा हुना लागेको उक्त महोत्सवको लागि स्टेज निर्माण तथा अन्य व्यवस्थापनको अन्तिम चरणमा पुगेको महोत्सव संयोजक तथा गायक रोशन फ्युबा तामाङले जानकारी दिए ।

करिव ८० प्रतिशत कार्य सम्पन्न भएको बताउँदै महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तामाङ कलाकार संघ परिवार लागेको बताए । स्टेज व्यवस्थानसंगै सुरक्षा व्यवस्थापनको पक्षलाई पनि मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महानगरीय प्रहरी वृत्त बौद्धलाई जानकारी गराइसकेको र नीजि क्षेत्रबाट समेत आवश्यक सुरक्षाकर्मी व्यवस्थापन भइसकेको संयोजक रोशन फ्युवाले बताए । महोत्सवलाई थप आकर्षक बनाउन उद्घाटनको दिन बौद्ध स्तूपदेखि डम्फू, झाँक्री, ताम्बा तथा तामाङ समुदायको विभिन्न संघसंस्थाको प्रतिनिधित्वसहित कार्यक्रम स्थलसम्म ¥याली गराउन लागेको बताए ।

त्यस्तै नेपाल तामाङ कलाकार संघका अध्यक्ष तथा गायक विशाल काल्तनले महोत्सवमा देशभरी रहेका तामाङ समुदायमा गाउने मौलिक भाषासहितको सेलो गीतहरू प्रस्तुत हुने बताए । तेस्रो संस्करणको रूपमा यस वर्ष तामाङ समुदायको मौलिकता झल्किने बाजा, गीतसंगीतका साथै पहिचानसहित प्रस्तुती गराउन पस्काउन लागेको बताए । महोत्सवको पहिलो दिन औपचारिक कार्यक्रमसहित सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुने र दोस्रो दिन पूर्ण रूपमा मनोरञ्जनात्मक प्रस्तुती पुरानो तथा नयाँ कलाकारहरूको प्रस्तुती रहने बताए ।

तामाङ समुदायको भाषा, धर्म, संस्कृति र संस्कारको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको मौलिक सेलो महोत्सवलाई सफल बनाउन देश तथा प्रवासमा रहनुभएका तामाङ दाजुभाइदिदीबाहिनी तथा विभिन्न संघसंस्थाबाट सकारात्मक सहयोग आएको अध्यक्ष काल्तनले बताए । दुईदिनसम्म चल्ने महोत्सवमा प्रवेश निःशुल्क रहेको जानकारी दिदै सम्पूर्ण तामाङ समुदाय तथा गैर तामाङ समुदायका शुभेच्छुकहरूलाई सहभागीको लागि अनुरोध गरेका छन् ।