आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

झम्झिखेलमा प्रहरीले चलायो गोली

गोकर्णेश्वर खबर२६ मंसिर २०८०, मंगलवार १४:२४ मा प्रकाशित (४ महिना अघि) ४९९ पाठक संख्या

ललितपुर । ललितपुरको झम्झिखेलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ३ ठाडो भर्‍याङनजिकै एक रेष्टुरेन्टमा लागुऔषध कारोबारी बसेको सूचनाका आधारमा सुरूमा सादा पोसाकका प्रहरी त्यहाँ पुगेका थिए।

सादा पोसाकका प्रहरीसँग लागुऔषध कारोबारी उदयपुर घर भएका अविनाश राईले ५५ लाख रुपैयाँमा एम्फेटामाइन आइस नामको लागुऔषध बिक्री गर्ने ुडिल गरेका थिए। उनीसँग चार सय ९० ग्राम लागुऔषध थियो।

उनले भारतबाट उक्त लागुऔषध ल्याएको प्रहरीको अनुमान छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो। उनको दाहिने खुट्टामा गोली लागेको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

लागुऔषध कारोबारी राईले आफूसँग डिल गर्ने व्यक्तिहरू प्रहरी भन्ने थाहा पाएपछि कटुवा पेस्तोल ताकेका थिए। त्यसपछि केहीबेर घम्साघम्सी भएपछि प्रहरीले गोली चलाएको थियो।

‘उनले कटुवा पेस्तोल ताकेपछि हामीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ घटनास्थलमा खटिएका एक प्रहरीले भने, ‘उनले लागुऔषध कारोबार गर्छन् भन्ने सूचना प्रहरीलाई केही दिनअघि नै आएको थियो।’