आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रधानमन्त्री भन्छन् – २ सय भन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको जानकारी छ

गोकर्णेश्वर खबर२५ मंसिर २०८०, सोमबार १५:५५ मा प्रकाशित (४ महिना अघि) २६५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रुसमा पुगेका करिब २ सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी भइरहेको बताएका हुन् ।

‘रुसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ’ उनले भने ।

रुस–युक्रेन युद्ध र इजरायल हमास युद्धका कारण नेपालले नयाँ परिस्थिति ब्यहोर्नुपरेको उनको भनाइ छ ।

‘कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौं । विगतमा देख्न व्यहोर्नपर्दैनथ्यो, अहिले अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्’, प्रधानमन्त्री प्रचण्डले भने । इजरायल हमास युद्धमा बेपत्ता विपिन जोशीको खोजी भइरहेको उनको भनाइ छ ।