आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्यो, एक जनाको मृत्यु,७ घाइते

गोकर्णेश्वर खबर१ कार्तिक २०८०, बुधबार १०:०७ मा प्रकाशित (६ महिना अघि) ३२५ पाठक संख्या

काठमाडौं । काभ्रेपलाञ्चकको पनौती नगरपालिका ५ मा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिएर भागेको विद्युतीय गाडी सुन्दरवस्तीस्थित सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको र ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापश्चात् उपचारका लागि अस्पताल पुर्‍याइएकामा बिहान साढे ७ बजे उनलाई मृत घोषणा गरिएको प्रहरीले बताएको छ।

बिहान ६ः४५ बजे बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडीले काठमाडौंबाट इलाम जाँदै गरेको ६४ प १७७२ नम्बरको मोटरसाइकललाई पनौतीमा ठक्कर दिएको थियो। रामेछाप जाँदै गरेको उक्त गाडी सडकको नालीमा खस्न पुगेको प्रहरीले बताएको छ।

दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिकाकी वर्ष २३ की पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका–२ बस्ने ५१ वर्षीय टंकप्रसाद दाहाल घाइते भएका छन्।

रामेछाप मन्थली नगरपालिका–२ की ३० वर्षकी ज्ञानु ढुंगेल, मन्थली नगरपालिका– १ बस्ने वर्ष १८ का रकिट ढुंगेल र लिखुतामाकोसी गाउँपालिका– ६ बस्ने वर्ष ३८ का अनिल आलेमगर पनि घाइते भएका छन्। उनीहरू गाडीमा सवार थिए।

मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका–३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन्।

उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।