आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

आज दशैंको पहिलो दिन घटस्थापन,हनुमान ढोकास्थित दसैं घरमा राखियो जमरा

गोकर्णेश्वर खबर२८ आश्विन २०८०, आईतवार १४:१६ मा प्रकाशित (६ महिना अघि) २०९ पाठक संख्या

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ ।

आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो ।

यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाई गरिएको छ ।

दसैंको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । आइतबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैं घरमा जमरा छर्ने गरिन्छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आहृवान गरी पूजाअर्चना गरिन्छ ।

नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।

विशेषतः जमरा जौको राख्ने गरिन्छ । तर, आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।