आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गौरीशंकरमा हाजिरजवाफ तथा हाँडी फुटाई प्रतियोगिता ,हाजिरजवाफमा वडा ४ विजेता

गोकर्णेश्वर खबर२५ आश्विन २०८०, बिहीबार १४:१७ मा प्रकाशित (६ महिना अघि) ३४६ पाठक संख्या

दोलखा – गौरीशंकर गाउँपालिकाले सबै वडाका शिक्षकबीच हाजिरजवाफ तथा जनप्रतिनिधि र शिक्षकबीच हाँडी फुटाइ प्रतियोगिता गरेको छ । पालिकाले प्रत्येक वडाका शिक्षक र जनप्रतिनिधिहरुबीच हाजिर जवाफ तथा हाँडी फुटाउँने प्रतियोगिता गरेको हो ।

दशैँ, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदानसहित वडा नम्बर ५ स्थित हलेश्वर माध्यमिक विद्यालय सुरीमा भएको कार्यक्रममा पालिका भित्रका वडागत शिक्षकबीच भएको हाजिरजवाफ प्रतियोगिताको विजेता वडा नं. ४ बनेको छ ।

प्रतियोगितामा दोस्रो स्थानको लागि चारवटा टिमको बराबर अंक आएपछि गोलाप्रथाबाट छनोट गरिएको थियो । जसमा वडा नं. २ ले दोस्रो र वडा नं. ३ ले तेस्रो स्थान हासिल गरेको छ । विजेता टिमले क्रमश ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यसैगरी, जनप्रतिनिधि र शिक्षकबीच भएको हाँडी फुटाइ प्रतियोगितामा निलकन्ठेश्वर आवासीय विद्यालयका शिक्षक रोशन कार्की प्रथम भएका थिए ।

गाउँपालिकाका शिक्षा अधिकृत भीमसेन बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा विश्वास कार्की थिए भने पालिका भित्रका सबै जनप्रतिनिधि तथा शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा साँस्कृतिक नृत्य तथा गीतहरु समेत प्रस्तुत गरिएको थियो ।