आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था छैन् :शिक्षामन्त्री राई

गोकर्णेश्वर खबर२१ आश्विन २०८०, आईतवार १६:३६ मा प्रकाशित (६ महिना अघि) १४२ पाठक संख्या

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताएका छन्।

आगामी वर्षहरूमा अर्थतन्त्रको प्रगतिसँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको भनाई थियो। आइतबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म भने कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था नरहने स्पष्ट पारे।

‘हाम्रो अर्थतन्त्रले धानेसम्म शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार पनि प्रष्टै छ। यस पाली कुल बजेटको ११ दशमलव २७ प्रतिशत लगानी रहेको छ भने आउने वर्षहरुमा त्यो भन्दा अर्थतन्त्रको प्रगतिसँगसँगै त्यो भन्दा बढि बजेट बढाएर राख्न सकिने कुरा पनि म निवेदन गर्न चाहन्छु,’ उनले भने, ‘तर सबै चीजको निर्णायक विषय चाँही के हो भने अर्थतन्त्रमा बढोत्तरी हुनु पर्‍यो। अर्थतन्त्रमा प्रगति हुनुपर्‍यो। उद्योगधन्दा खुल्नुपर्‍यो। बन्दव्यापार फुल्नु, फल्नुपर्‍यो। कृषि उपजमा प्रगति हुनु पर्‍यो। यो सबै कुराको सामरिक असर शिक्षामा पनि पर्नेकुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु।’

मन्त्री राईले विज्ञहरूसँग थप छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउन पनि सरकार तयार रहेको पनि बताए। उनले सरकारले शिक्षक, विद्यार्थी र अभिभावकको जायज मागलाई सम्बोधन गरेर नै सो विधेयकलाई अघि बढाउने पटकपटक दोहोर्‍याए।