आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

बैंकले पटक-पटक टर्चर दिएपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडा शाखा प्रमुखले गरे त्रिशूलीमा हाम फालेर आत्महत्या

गोकर्णेश्वर खबर१७ आश्विन २०८०, बुधबार १५:४८ मा प्रकाशित (६ महिना अघि) ११० पाठक संख्या

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए ।

देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

मर्ज भएपछि हेटौंडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा पटक पटकको दिइएको टर्चरका कारण देवकोटा नदीमा हाम फालेको हुनसक्ने प्रहरीले बतायो ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले भने, ‘बैंकले टर्चर दिएर नै नदीमा हाम फालेको भन्ने छ । अहिलेसम्म शव भेटिएको छैन । अहिले नदीमा भेलबाढी पनि आइरहेको छ । गोताखेर प्रयोग गरेर शव खोजी भइरहेको छ । आत्महत्या गर्नेका बुबा आउनुभएको थियो । हामीले सुसाइट नोट भए प्रहरीलाई दिनुस् भनेका छौं ।’

प्रत्यक्षदर्शीहरुसँग बुझ्दा देवकोटा बैंकको केन्द्रीय कार्यालय काठमाडौं पुगेर हेटौंडा घर फर्किने क्रममा नदीमा हाम फालेर आत्महत्या गरेको बुझिएको मिश्रले बताए ।

देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर आत्महत्या गरेका थिए । देवकोटाको घर हेटौंडा उपमहानगरपालिका २ चौकीटोल हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई यस विषयमा जानकारी लिन पटक पटक सम्पर्क गर्दा कुरा हुन सकेन ।