आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

राहत शिक्षक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

गोकर्णेश्वर खबर१२ आश्विन २०८०, शुक्रबार १७:१७ मा प्रकाशित (७ महिना अघि) ७२ पाठक संख्या

काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ ।

शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा भएको सहमतिमा राहत शिक्षकको सीमित प्रतिस्पर्धा सम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ ।

परीक्षामा उत्तीर्ण भएका शिक्षकहरु स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकहरुलाई सरकारले आर्थिक प्याकेज दिनेछ ।

संसदमा दर्ता भएको विधेयकमा भने आन्तरिकतर्फ ५० प्रतिशत कायम गर्ने उल्लेख थियो भने ५ असोजमा शिक्षक महासंघसँग भएको ६बुँँदे सहमतिमा ७५ प्रतिशत पुर्‍याउने उल्लेख थियो । त्यसमा असहमत राहत तथा बालविकास शिक्षकहरुले आन्दोलन जारी राखेपछि सरकारले वार्ता थालेको थियो ।

शुक्रबार भएको सहमति शिक्षक महासंघसँग गरेको सहमतिको पूरक भएको शिक्षामन्त्री राईले बताए ।

प्रस्तावित विधेयकमा छुटफुट भएका विषयलाई संसदीय प्रक्रिया मार्फत समावेश गरियोस् भनेर सरकारले सहमति गरेको भन्दै उनले भने, ‘सबै शिक्षक साथीहरु सहमतिमा आउनुभएको छ । सम्झौताहरुलाई संसदमा प्रस्तुत गरेर संसदीय प्रक्रिया मार्फत विधेयक पारित गर्दा सामेल गर्ने शिक्षा मन्त्रालयको जिम्मेवारीमा आएको छ ।’