आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

रेडी ट्रेडर्सको गोदाममा छापा,थप साढे ११०० थान ब्रेक शु बरामद

गोकर्णेश्वर खबर११ श्रावण २०८०, बिहीबार ०८:२० मा प्रकाशित (९ महिना अघि) २५१ पाठक संख्या

काठमाडौं । सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिनाभित्र आयात गरेको सबै ब्रेक शु सुनकै भएको पुष्टि भएको छ ।

राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ । जसमध्ये प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको छ ।

‘बरामद ब्रेक शु ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको छ तर गोदाममै सुन छुट्टयाएर तस्करले लगेको अवस्थामा फुक्लेका धेरै ब्रेक शु भेटियो,’ विभाग स्रोतले भन्यो ।

गोदामबाट ब्रेक शुबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलो समेत भेटिएको विभागले जनाएको छ ।

सोह्रखुट्टेको गोदामबाट ६६ वटा प्याकेटमा ११ सय ६२ किलो ब्रेक शु बरामद भएको थियो । जसमा हरेक प्याकेटमा १० थानका दरले ब्रेक शु थियो । एक थानमा एक जोडी ब्रेक शु रहेकामा विमानस्थलमा बरामद भएकोमा एउटा चाहिँ सुनको थियो ।

तर, सोह्रखुट्टेमा बुधबार बरामदमध्ये एउटा पातो ब्रेक शु झिकिएको अवस्थामा भेटिएको छ । यद्यपि विस्तृत विवरण ल्याब परीक्षण पछि मात्रै थाहा हुने विभागले जनाएको छ ।

२०७९ चैत १९ गते खुलेको कम्पनी रेडी ट्रेडर्सले २ साउनसम्म १ हजार ३१७ किलो ब्रेक शु आयात गरेको देखिएको छ ।

बुधबार विभागले छापा मारेको गोदाम चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गरेका थिए । विभागले सुन तस्करी प्रकरणमा छापा मारेको यो तेस्रो गोदाम हो ।