आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

राष्ट्रपति पौडेलको क्षेत्रमा पनि १० वैशाखमा उपनिर्वाचन गर्ने आयोगको तयारी

गोकर्णेश्वर खबर३० फाल्गुन २०७९, मंगलवार १०:०८ मा प्रकाशित (१ साल अघि) ३३ पाठक संख्या

काठमाडौं । निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ मा पनि १० वैशाखमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका रामचन्द्र पौडेल विजयी भएका थिए । तर उनी राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र खाली भएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले सांसदबाट राजीनामा दिएका कारण तनहुँ १ खाली भएको हो ।

‘तनहुँमा पनि १० वैशाखमा निर्वाचन गर्ने आयोगको तयारी छ,’ प्रुमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘उपराष्ट्रपतिको परिणाम आएपछि एकैपटक निर्णय गर्छौं ।’

तीन चैतमा उपराष्ट्रपतिको निर्वाचन छ । उपराष्ट्रपतिमा पनि निर्वाचित सांसद विजयी भएमा उक्त क्षेत्र खाली हुनेछ । ‘उपराष्ट्रपतिको निर्वाचनपछि उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्छौं,’ उनले भने, ‘१० वैशाखमा चुनाव गराउन सक्छौँ ।’

आयोगले १० वैशाखमा चितवन २ मा उपनिर्वाचन गर्दैछ ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए पनि नागरिकता प्रकरणमा उनको सांसद पद गएको थियो । त्यसैले आयोगले उपनिर्वाचन गर्न लागेको हो । चितवन २ को उपनिर्वाचनसँगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि खाली हुने क्षेत्रमा पनि एकैपटक उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा उपनिर्वाचनसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । उक्त दफामा भनिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।’