आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

अभिनेता पल शाह रिहा

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७९, सोमबार १५:१५ मा प्रकाशित (१ साल अघि) ९६ पाठक संख्या

१५ फागुन, काठमाडौं । यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह थुनामुक्त भएका छन् । नाबालिक बलात्कारको आरोप लागेपछि गतवर्ष फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका शाह एकवर्षपछि सोमबार थुनामुक्त भएका हुन् ।

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए ।

एक गायिकाले शाहले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा जाहेरी दिएकी थिइन् । उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो ।