आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

समाजलाई बलियो बनाउन संस्कृतिको संरक्षण हुनु पर्छ : सन्तोष चालिसे

गोकर्णेश्वर खबर२२ मंसिर २०७९, बिहीबार १७:४३ मा प्रकाशित (१ साल अघि) १०४ पाठक संख्या

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ का नव निर्वाचित संघीय सांसद सन्तोष चालिसेले विविधतामा एकता नेपालको सामाजिक पहिचान भएकोले स्थानीय सरकारले सबै संस्कृतिको विकासका लागि काम गर्नु पर्ने बताएका छन् । आज आदीवासी किरात समाज गोकर्णेश्वर ९ ले आयोजना गरेको भूमी पूजा र नाच कार्यक्रमलाई सम्बोधन गर्दै चालिसेले आफू गोकर्णेश्वरको मेयर हुँदा पनि आदिवासी लगायतका सबै सांस्कृतिक समुदायको हितमा काम गरेको स्मरण गर्दै समाजलाई बलियो बनाउन संस्कृतिको संरक्षण हुनु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई निवर्तमान संघीय सांसद कृष्ण राई, नव निर्वाचित वागमति प्रदेश सभा सदस्य विमल ठकुरी, गोनपाका उपमेयर सान्नानी लामाले सम्बोधन गरेका थिए ।

काठमाडौं क्षेत्र नं. ३ का नव निर्वाचित संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा निवर्तमान संघीय सांसद कृष्ण राई, गोनपाका उपमेयर सान्नानी लामा, वागमति प्रदेश सभा सदस्य विमल ठकुरी, छिरिङ दोर्जे लामाको विशेष आतिथ्यता तथा गोनपा ४ का वडा अध्यक्ष जयराम महत, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको कार्यक्रम आदीवासी किरात समाज गोकर्णेश्वर ९ का अध्यक्ष दीपेन्द्र चाम्लिङको सभापतित्वमा भएको थियो ।

आदीवासी किरात समाज गोकर्णेश्वर ९ आरुबारी काठमाडौंको आयोजनामा आज भएको आदीवासी किरातहरूको सांस्कृतिक महान चाड मंसिरे पुर्णिमा उद्यौली तथा किरात सम्वत ५०८२ को पावन अवसरमा राष्ट्रिय शहिद स्मारक तथा शान्ति पार्क भनेर चिनिने जगडोलमा भूमी पूजा र नाच कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सांस्कृतिक नाचका साथै भूमि थानमा पूजा गरिएको थियो । कार्यक्रममा आदीवासी किरात सम्बद्ध विभिन्न संघसंस्थाको सह आयोजना रहेको थियो ।

नव निर्वाचित संघीय र  वागमति प्रदेश सभा सदस्यलाई सम्मान  

नव निर्वाचित संघीय सांसद र प्रदेस सभा सदस्यलाई आज आदीवासी किरातहरूको सांस्कृतिक महान चाड मंसिरे पुर्णिमा उद्यौली तथा किरात सम्वत ५०८२ को पावन अवसरमा जगडोलमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।

आज काठमाडौं क्षेत्र नं. ३ का नव निर्वाचित संघीय सांसद सन्तोष चालिसे, वागमति प्रदेश सभा सदस्य विमल ठकुरी र छिरिङ दोर्जे लामालाई आयोजकले माला लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए ।