आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

नेपाल सम्वत्को महत्व उजागर गर्न जरुरी रहेकोमा प्रधानमन्त्रीको जोड 

गोकर्णेश्वर खबर९ कार्तिक २०७९, बुधबार १९:२९ मा प्रकाशित (१ साल अघि) ४८ पाठक संख्या

९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै यसको महत्त्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताएका छन् ।

नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले बुधबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्को प्रयोगलाई आगामी दिनमा थप व्यापकता दिन आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिकस्तर वृद्धि गर्न र जनतालाई सुखी एवम् स्वतन्त्र तुल्याउन शङ्खधर साख्वाःले गर्नुभएको कामबाट हामी सबैले प्रेरणा लिन सक्नुपर्नेमा जोड दिएका थिए । देउवाले भने,“शङ्खधर साख्वाःले देखाउनुभएको सत्मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्न सके मुलुकबाट गरिबी, आर्थिक असमानता र विपन्नता चाँडै नै अन्त्य गर्न सकिने कुरामा दुईमत छैन । नेपालको सामाजिक इतिहासलाई उच्च राख्ने शङ्खधर साख्वाःजस्ता महान् व्यक्तित्वबाट हामी सबैले सिक्न जरुरी छ ।”

प्रधानमन्त्री देउवाले व्यक्तिगतभन्दा सामूहिक र दलगत हितभन्दा माथि उठेर राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्नसके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।