आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

आज गोवर्द्धन पुजा 

गोकर्णेश्वर खबर९ कार्तिक २०७९, बुधबार ०७:०९ मा प्रकाशित (१ साल अघि) १६८ पाठक संख्या

९ कार्तिक, काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पुजा हो । आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गर्ने चलन छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको छ ।

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।