आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

कागेश्वरी मेला भोली देखि शुरु, तीन दिनसम्म चल्ने

गोकर्णेश्वर खबर१६ भाद्र २०७९, बिहीबार १६:२० मा प्रकाशित (१ साल अघि) ४२२ पाठक संख्या

भदौ १६, काठमाडौँ । प्राकृतिक एवम् पौराणिक धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी मन्दिर क्षेत्रमा भदौ १७ गते (भोलि) देखि मेला हुने भएको छ । काठमाडौको उत्तर–पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा कागेश्वरी मेला हुने भएको हो ।

मेला ३ दिनसम्म विशेष कार्यक्रम गरी मनाउने आयोजकले जनाएका छन् । मेलाको पहिलो दिन भोली शुक्रबार साहित्य सम्मेलन हुनेछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमी अर्थात् कागेअष्टमीका दिन बर्षेनी मेला लाग्ने गरेको कागेश्वरी मनोहरा नगरपालिका वडा –१ का अध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिए। मेला व्यवस्थापनको लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष गजुरेलले  बताए ।

सो मेलालाई व्यवस्थित बनाउन कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीको संयोजकत्वमा नगर उप प्रमुख शान्ता थापासहित कार्यपालिका सदस्य रहेको १९ सदस्यीय मूल आयोजक समिति गठन भएको छ ।

मेलालाई आकर्षक बनाउन स्थानीय खाद्य उत्पादनको प्रर्दशन तथा विविधि साँस्कृतिक कार्यक्रम गरिने आयोजकले बताए । किंवदन्तीअनुसार परापूर्व कालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यसै बेलादेखि यस मन्दिरको नाम कागेश्वरी महादेव मन्दिर रहन गएको हो ।

नगरपालिकाको नाम कागेश्वरी क्षेत्रसँग पनि जोडिएको छ । यस धार्मिक पर्यटकीय स्थललाई नगरपालिकाले विशेष महत्व दिएको छ । मेलामा आन्तरिक तथा बाह्य क्षेत्रबाट १ लाख ५० हजारजति पर्यटक आउने अनुमान गरिएको छ ।