आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

भागवत सापकोटा गोकर्णेश्वर ६ को वडा अध्यक्षका बलिया दावेदार

गोकर्णेश्वर खबर२ बैशाख २०७९, शुक्रबार २०:३९ मा प्रकाशित (२ साल अघि) ११५३ पाठक संख्या

२ वैशाख, काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलाई लिएर गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा नेकपा एमालेमा सरगर्मी बढेको छ । गोकर्णेश्वर ६ मा गत स्थानीय चुनावमा वडा अध्यक्ष बाहेक ४ सदस्य एमालेले जितेको थियो ।

अहिले गोकर्णेश्वर नगरपालिका वडा नं ६ को वडा अध्यक्षको उम्मेदवारमा नेकपा एमालेबाट युवा नेता भागवत सापकोटाको नाम चर्चामा रहेको छ । संगठनमा बलियो पकड भएका विकास प्रेमी नेताका रुपमा चिनिएका गोकर्णेश्वर नगर कमिटी सचिवालय सदस्य समेत रहेका सापकोटा अन्य आकांक्षी भन्दा वडा अध्यक्षका बलिया दावेदार भएको नेकपा एमाले स्रोतले गोकर्णेश्वर खबरलाई बतायो ।

सापकोटाले वडालाई नमूना वडा बनाउने विकासको एजेण्डा लिएर नेकपा एमालेको तर्फबाट आफूले वडा अध्यक्षमा उम्मेदवारी दावी गरेको बताए । २०५० सालबाट राजनीतिक यात्रा शुरु गरेका सापकोटा साविक जोरपाटी गाविस देखि नै जोरपाटी क्षेत्र तथा वडा नं ६ को विकास र सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

२०५० सालमा अनेरास्ववियुको सदस्यता लिई प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका सापकोटा २०५८ सालमा नेकपा एमालेको तत्कालिन प्ररायुसंघको काठमाडौं जिल्ला कमिटी सदस्य बनेका थिए भनें २०६२ सालमा नेकपा एमालेको संगठित सदस्यप्राप्त गरी २०६३ सालमा जोरपाटी गाउँकमिटि सदस्यमा दुई कार्यकाल काम गरेका थिए । उनले २०६६ सालमा जोरपाटी गाउँकमिटीको सचिवमा रहेर काम गरिसकेका छन् ।

२०६७ सालमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको निर्वाचन तथा कानुन विभाग सदस्य बनेका सापकोटाले २०६८ सालमा नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटीको कोषाध्यक्षको सफल दायित्व निर्वाह गरिसकेका छन् ।

२०६९ सालमा पुन जोरपाटी गाउ कमिटीको सचिव बनेका उनि २०७२ सालमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ को अध्यक्ष र २०७८ सालमा गोकर्णेश्वर नगर कमिटी सचिवालय सदस्य बनेका सापकोटा नेपाल खेलकुद महासंघ उपत्यका प्रदेश कमिटीका सदस्य समेत हुन् ।

जोरपाटी क्षेत्रमा चिरपरिचत र जनताले रुचाएका नेता सापकोटा गोकर्णेश्वर ६ मा निर्वाचन जित्न सक्ने प्रवल दावेदार भएको उनी निकट स्रोतले बतायो । सापकोटाको राजनीतिक र सामाजिक सक्रियताले पनि उनलाई वडा अध्यक्षका अन्य आकांक्षी भन्दा धेरै बलियो दावेदार बनाएको स्रोतले बतायो ।