आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसालको दावी

गोकर्णेश्वर खबर२४ चैत्र २०७८, बिहीबार २२:४९ मा प्रकाशित (२ साल अघि) १३१६ पाठक संख्या

२४ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका युवा नेता दीपक रिसालले दावी गरेका छन् । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार समेत रहेका रिसालले ५ वर्षमा नगरवासीको नजिक रहेर आफूले धेरै काम गरेको भन्दै अब समृद्ध र विकसित नगरपालिका निर्माणका लागि मेयरमा उम्मेदवारी दिने गोकर्णेश्वर खबरलाई बताए ।

यस भन्दा अघि वर्तमान मेयर सन्तोष चालिसेलाई सहयोग गरेको बताउँदै उनले यस पटक आफूलाई चालिसेले सहयोग गर्ने विश्वास व्यक्त गरे । केही समय पहिले मेयर सन्तोष चालिसेले मेयरको उम्मेदवारमा आफू (दिपक रिसाल)लाई अगाडी बढाउने प्रतिबद्धता जनाएको समेत उनले दावी गरे ।

रिसालले ५ वर्ष नगरपालिकाको विकासमा नजिक रहेर आर्थिक सामाजिक विकासमा गरेका कामहरु, नीति योजना निर्माणमा खेलेको भूमिकाका आधारमा आफू मेयरको उम्मेदवारका लागि बलियो दावेदार भएको बताए । रिसालले विभिन्न सामाजिक, शैक्षिक, धार्मिक, सांस्कृतिक, खेलकुद लगायतका क्षेत्रमा आबद्ध भएर र नगरपालिकामा बसेर खेलेको भूमिका एवम् राजनीतिक परिवेशले पनि यस पटक आफूलाई साथ दिने भएकोले मेयरको उम्मेदवारमा बलियो दावेदार भएको बताए ।

रिसालले भनें– ‘म राजनीति, समाजसेवा र शैक्षिक विकासका क्षेत्रमा लामो समयदेखि क्रियाशिल भईरहेको छु, सामाजिक कार्य गरेर जनताको मन जितेको छु, राजनीतिक रुपमा पनि संगठन र विकासका लागि काम गरेको छुँ । चुनाब जित्ने कुरामा ढुक्क छु ।’

रिसालले गोकर्णेश्वर नगरपालिकालाई विकसित गर्ने, समृद्ध नगर बनाउने उदेश्य लिएर आफू राजनीतिमा निरन्तर क्रियाशिल भएकोले नगरपालिकामा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने उदेश्य लिएको बताए । उनले आर्थिक अवस्था कमजोर रहेका नगरवासीका लागि आफूले निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा सुनिश्चित हुने गरी काम गर्ने बताए ।

रिसाल कोरोना कहरको कठिन समयमा उपचारमा सहयोग गरेर र आर्थिक अवस्था कमजोर भएका नगरवासीहरुका लागि स्वास्थ्य उपचारमा उल्लेखनीय सहयोग गरेर जनस्तरमै लोकप्रिय समेत छन् ।

उनले वर्तमान मेयरले गरेका आर्थिक सामाजिक विकासका कामलाई पुरा गर्ने बताए । हाल नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव समेत रहेका रिसाल अरुणोदय माविको व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको पूर्वअध्यक्ष हुन् । उनी हाल गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको वर्तमान महासचिव छन् । रिसाल नेपाली कांग्रेसको पूर्व महासमिति सदस्य पनि हुन् ।

गोणर्केश्वर नगरपालिकामा आर्थिक, धार्मिक, पर्यटकीय विकासमा जोड दिएर नयाँ समृद्ध नगरपालिका बनाउने आफ्नो सपना रहेको बताउँदै उनले गोकर्णेश्वर नगरपालिकालाई देशकै नमूनायोग्य बनाउने गरी काम गर्न सक्छु भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।