आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

भारतको तीन दिने भ्रमण पूरा गरी प्रधानमन्त्री देउवा स्वदेश फिर्ता  (फोटोफिचर)

गोकर्णेश्वर खबर२० चैत्र २०७८, आईतवार २०:५६ मा प्रकाशित (२ साल अघि) ४६७ पाठक संख्या

२० चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाईन्सको विमानबाट आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनलाई कार्यावाहक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । देउवाको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए । भ्रमणको क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायत नेतासँग द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए ।

यस्तै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकपुर–जयनगर रेल सेवाको भर्चुअल्ली उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवा आइतबार बिहान भारतको वाराणसी पनि पुगेका थिए ।

त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना समेत गरेका थिए । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि थिए ।