आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

स्थानीय तहको निर्वाचनका लागि मतपत्रको छपाइ सुरु 

गोकर्णेश्वर खबर२० चैत्र २०७८, आईतवार १०:३२ मा प्रकाशित (२ साल अघि) ६४० पाठक संख्या

२० चैत, काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ ।

स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ । मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले शनिबार मतपत्रको छपाइ सुरु गरेको हो ।

सबैभन्दा लामो मतपत्र काठमाडौँ जिल्लाको ५६ लहरको छ । सबैभन्दा सानो डोल्पामा १६ लहरको छ । आयोगले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । जिल्लाबाट निर्वाचनमा भाग लिने दलहरुको संख्या अनुरुप जिल्लापिच्छे फरक–फरक आकारको मतपत्रको डिजाइन गरिएको छ ।

काठमाडौँ उपत्यकालगायत ६ वटा महानगरपालिको मतपत्र छपाइ भने १८ गतेपछि हुने आयोगको भनाइ छ। आयोगले एक करोड ९४ लाख मतपत्र छपाइ गर्दैछ ।

१ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भए पनि १० देखि १५ प्रतिशत बढी मतपत्र छपाइ गरिने आयोगले जनाएको छ । सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड आयोगलाई बजेट दिइएको छ ।

आयोगले मतपत्रमा निर्वाचन चिन्ह भने हरियो रंग नै कायम गरेको छ । काठमाडौँ जिल्लामा निर्वाचन भाग लिने दल र जिल्लागत संरचना ४० वटा दलको देखिए पनि आयोगले स्वतन्त्र उम्मेदवार समेतको अनुमानका आधारमा मतपत्रको लहर बढाएर छापेको हो ।