आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

नेपाली कांग्रेसले स्थानीय परिस्थति र आवश्यकता अनुसार चुनावी तालमेल गर्ने

गोकर्णेश्वर खबर१५ चैत्र २०७८, मंगलवार १९:४७ मा प्रकाशित (२ साल अघि) ३३२ पाठक संख्या

१५ चैत, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गरेका दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेको छ ।

चैत ११ गते शुक्रबारदेखि बसेको केन्द्रीय समितिको बैठकले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गरेका दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीभित्र विभिन्न बहस र विवादबीच आगामी चुनावमा गठबन्धन गर्ने बारे धारणा स्पष्ट गरेको हो ।

स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको र जुन–जुन स्थानीय तहमा तालमेल हुने हो त्यहाँ आवश्यक संयन्त्र बन्ने कांग्रेसले निष्कर्ष निकालेको छ । स्थानीय तहका उममेदवारका लागि भने पार्टीको विधानमा उल्लेख भए बमोजिमको मापदण्ड लागू हुने छ ।

बैठकले यसअघि फागुन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णयहरु अनुमोदन गरेको छ । बैठकले वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

पार्टी विधान अनुरुप देशव्यापीरुपमा कांग्रेसको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ ।