आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउँदै

गोकर्णेश्वर खबर११ चैत्र २०७८, शुक्रबार ०७:१८ मा प्रकाशित (२ साल अघि) ४५८ पाठक संख्या

११ चैत, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै छन्  । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । विदेशमन्त्री वाङको बासस्थानदेखि, सवारी चल्ने सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाउने तयारी गरिएको छ । बौद्ध, स्वयम्भू र हात्तीसारलगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विदेशमन्त्री वाङ यीको स्वागतको भव्य तयारी गरिएको छ । विमानस्थलमा विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गर्नेछ । नेपाल भ्रमणमा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट हुनेछ भनें चैत १२ गते परराष्ट्रमन्त्री डा. खड्कासँग द्विपक्षीय भेट हुनेछ ।

तथापि जलविद्युत् परियोजना, ट्रान्स हिमालयन सम्पर्क सञ्जाल, बीआरआई परियोजनासँग सम्बन्धित विषयलाई नयाँ पहलसाथ अघि बढाउने विषयमा छलफल र सहमतिको आधार बनाइने मन्त्रालयले जनाएको छ । यीबाहेक कोभिड–१९ महामारीपछिको आर्थिक पुनस्र्थापनाका साथै भविष्यमा आइपर्ने महामारीजन्य सङ्कटका लागि चीनले गर्नसक्ने थप सहयोगका विषयमा पनि एक खालको खाका मन्त्रालयले बनाएको छ । त्यसमा नेपालमा थप लगानीको अवसरका विविध क्षेत्रलाई खुट्याएर सरकारका तर्फबाट द्विपक्षीय वार्तामा अघि सारिने भएको छ ।

नेपालसँग रेल्वे परियोजनालगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता यसअघि नै भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता रहेको मन्त्रालयले जनाएको छ । नेपालमा चिनियाँ रेल निर्माणको सम्बन्धमा थप छलफल हुने जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता समेत हुने कार्यक्रम रहेको छ ।