आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

एमालेले तोक्यो उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड

गोकर्णेश्वर खबर११ चैत्र २०७८, शुक्रबार ०७:१२ मा प्रकाशित (२ साल अघि) ३८६ पाठक संख्या

११ चैत, काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । एमालेको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो ।

एमालेले स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, उम्मेदवार सिफारिस गर्नका लागि वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँकमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख/उपप्रमुखको हकमा गाउँ/नगरकमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर/महानगरकमिटीको हकमा सम्बन्धित कमिटीहरुको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेगरी केन्द्रीय कमिटी बैठकबाट टुंग्याइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले चैत मसान्तभित्र ६ मापदण्डअनुसार स्थानीय तहका उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् ।